सुनवल । स्नातकोत्तर (मास्टर्स) तहसम्म पढाइ हुने पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा क्याम्पसले सञ्चालक समितिको अध्यक्ष बन्ने शैक्षिक योग्यता घटाएर माध्यमिक तह कक्षा १२ मा झारेको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को प्रचलित कानुनविपरीत क्याम्पसले आफ्नै पुरानो विधान संशोधन गरी नेतृत्वको न्यूनतम योग्यता घटाइएको पाइएको छ ।
क्याम्पसको साविकको विधानमा अध्यक्ष बन्न कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने अनिवार्य व्यवस्था थियो । तर, विधान संशोधन मार्फत उक्त मापदण्ड हटाएर माध्यमिक तह उत्तीर्ण भए पुग्ने प्रावधान राखिएको पाइएको छ।
क्याम्पसको संशोधित विधान त्रिभुवन विश्वविद्यालयको ‘सम्बन्धनसम्बन्धी विनियम, २०७३’ को नियम ३६(२) सँग सोझै बाझिएको छ। उक्त विनियममा सामुदायिक क्याम्पसको अध्यक्ष मनोनयनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ।
२०६० सालमा स्थापित र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यू एए) समेत प्राप्त गरिसकेको प्रतिष्ठित शैक्षिक संस्थाले त्रिविको नियमविपरीत अध्यक्षको शैक्षिक मापदण्ड घटाउनुले क्याम्पसको सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।
क्याम्पसमा बिगत १५ बर्षदेखि कृष्ण प्रसाद लामिछाने अध्यक्ष भएर काम गर्दै आएका छ्न । लामिछानेले भने विधानको व्यवस्थाले एउटै व्यक्ति आजीवन अध्यक्ष बन्न मिल्ने बताए ।



