२०८३, कार्तिक २४ गते

Nov 09 2026

images
images

लुम्बिनी वर्ल्ड स्कूलमा शैक्षिक मेला, विद्यार्थीले देखाए प्रतिभा र सिर्जनशीलता

लुम्बिनी वर्ल्ड स्कूलमा शैक्षिक मेला, विद्यार्थीले देखाए प्रतिभा र सिर्जनशीलता

व्यावहारिक शिक्षण, प्रविधि, कला र सीपलाई जोड्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयको जोड

लुम्बिनी वर्ल्ड स्कूलमा शैक्षिक मेला, विद्यार्थीले देखाए प्रतिभा र सिर्जनशीलता

लुम्बिनी वर्ल्ड स्कूलमा शैक्षिक मेला, विद्यार्थीले देखाए प्रतिभा र सिर्जनशीलता

व्यावहारिक शिक्षण, प्रविधि, कला र सीपलाई जोड्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयको जोड

लुम्बिनी वर्ल्ड स्कूलमा शैक्षिक मेला, विद्यार्थीले देखाए प्रतिभा र सिर्जनशीलता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, कार्तिक २२ २०८३
शनिवार, कार्तिक २२ २०८३
  • तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–१३, मधवलियास्थित लुम्बिनी वर्ल्ड स्कूलमा शनिबार शैक्षिक मेला सम्पन्न भएको छ। विद्यार्थीमा अन्तर्निहित प्रतिभा, सिर्जनशीलता, ज्ञान र व्यावहारिक सीपको प्रस्फुटन गराउने उद्देश्यले आयोजित मेलामा विद्यार्थीहरूले कक्षाकोठामा सिकेका विषयवस्तुलाई विभिन्न प्रदर्शनी तथा गतिविधिमार्फत प्रस्तुत गरेका छन्।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल टण्डनको अध्यक्षतामा आयोजित मेलामा विद्यार्थीहरूले विज्ञान, प्रविधि, कला, संस्कृति, शैक्षिक सामग्री तथा सिर्जनात्मक गतिविधिसँग सम्बन्धित विभिन्न स्टलहरू राखेर आफ्ना सिकाइ र क्षमताको प्रदर्शन गरेका थिए। पाठ्यपुस्तकमा सीमित ज्ञानलाई व्यवहारमा उतार्ने अवसरका रूपमा रहेको मेलामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो।

    मेलाको उद्घाटन कार्यक्रममा संघीय सांसद मञ्जु भुसालले लुम्बिनी वर्ल्ड स्कूलले व्यवहारिक तथा गुणस्तरीय शिक्षाका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरिरहेको बताइन्। शिक्षालाई परीक्षामा राम्रो नतिजा ल्याउने माध्यममा मात्र सीमित नराखी विद्यार्थीको जीवनोपयोगी सीप, सोच्ने क्षमता र सिर्जनशीलता विकास गर्ने दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

    वर्तमान समयमा डिजिटल प्रविधिको प्रयोग र दुरुपयोगका कारण बालबालिकामा विभिन्न नकारात्मक असर देखिन थालेको उल्लेख गर्दै उनले अभिभावकलाई बालबालिकाको प्रविधि प्रयोग, आनीबानी र गतिविधिप्रति विशेष सचेत रहन आग्रह गरिन्। निजी विद्यालयहरूले भोग्दै आएका समस्या र चुनौतीबारे आफू जानकार रहेको बताउँदै उनले ती विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

    विद्यालयका प्राचार्य विष्णु लम्सालले स्वागत मन्तव्य राख्दै शैक्षिक मेलाको उद्देश्य र विद्यालयको शैक्षिक अवधारणाबारे प्रकाश पारे। विद्यार्थीको क्षमता प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए।

    ‘सार्थक शिक्षा नै सार्थक जीवनको आधार हो’ भन्ने मान्यताका साथ विद्यालयले सिकाइलाई व्यवहारसँग जोड्दै आएको उल्लेख गर्दै उनले कक्षाकोठामा प्राप्त ज्ञानलाई कक्षाकोठाभित्र मात्र सीमित राख्न नहुने बताए। विद्यार्थीले आफैं सिर्जना गर्ने, प्रयोग गर्ने, प्रस्तुत गर्ने र अनुभवबाट सिक्ने वातावरण निर्माण गर्नु नै व्यावहारिक शिक्षाको महत्वपूर्ण पक्ष भएको उनको भनाइ थियो।

    प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेले मुलुकको शैक्षिक विकास र गुणस्तरीय शिक्षा प्रवर्द्धनमा निजी क्षेत्रले पुर्‍याएको योगदानको पर्याप्त कदर हुन नसकेको बताए। निजी विद्यालयहरूले शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले राज्यले निजी शैक्षिक संस्थाका समस्या र योगदानलाई उचित रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख धनिप्रसाद शर्मा र तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले लुम्बिनी वर्ल्ड स्कूलले स्थापना भएको छोटो समयमै शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै अघि बढेको बताए। विद्यालयले शैक्षिक गुणस्तर, विद्यार्थीको प्रतिभा विकास र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै अघि बढाएको प्रयास प्रशंसनीय रहेको उनीहरूको भनाइ थियो।

    शैक्षिक मेलामा विद्यार्थीहरूले विभिन्न शैक्षिक तथा सिर्जनात्मक सामग्री प्रदर्शन गर्नुका साथै गीत, संगीत र नृत्यमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए। विद्यार्थीका सिर्जना, प्रस्तुति र प्रयोगात्मक सिकाइले अभिभावक तथा आगन्तुकलाई आकर्षित गरेको थियो। यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, सहकार्य, समस्या समाधान र सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    विद्यालयले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै मेलाकै अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। शिक्षा र सामाजिक सेवाको भावनालाई एकसाथ जोड्ने उद्देश्यले आयोजित रक्तदानमा पनि सहभागिता रहेको थियो।

    कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षाप्रेमी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य सहभागिता थियो। विद्यालयले अध्ययन, सिर्जनशीलता, अतिरिक्त क्रियाकलाप र सामाजिक उत्तरदायित्वलाई एकीकृत गर्दै विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिएको सन्देश मेलाले दिएको थियो।

    कार्यक्रम समापन गर्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष गोपाल टण्डनले लुम्बिनी वर्ल्ड स्कूललाई रुपन्देहीमा मात्र नभई समग्र लुम्बिनी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यसहित विद्यालय अघि बढिरहेको बताए। त्यसका लागि विद्यार्थी केन्द्रित शिक्षण सिकाइ, गुणस्तरीय शैक्षिक वातावरण, आधुनिक शिक्षण पद्धति र अतिरिक्त क्रियाकलापलाई विशेष प्राथमिकता दिइएको उनले उल्लेख गरे।

    उनले आगामी शैक्षिक सत्रदेखि विद्यालयमै कक्षा ११ र १२ को पढाइसमेत सञ्चालन गरिने जानकारी दिए। माध्यमिक तहसम्मको शैक्षिक यात्रालाई थप विस्तार गर्दै उच्च माध्यमिक तहमा समेत विद्यार्थीलाई निरन्तर अध्ययनको अवसर उपलब्ध गराउने विद्यालयको तयारी रहेको उनको भनाइ थियो।

    WhatsApp Image 2026-11-07 at 13.59.17.jpeg

    विद्यालयले शैक्षिक मेलामार्फत विद्यार्थीको सिकाइलाई प्रदर्शन, प्रयोग र अनुभवसँग जोड्ने प्रयास गरेको छ। यसले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न, नयाँ कुरा सिक्न र भविष्यमा आवश्यक पर्ने व्यावहारिक दक्षता विकास गर्न प्रेरित गर्ने विश्वास विद्यालयले लिएको छ।

    कार्यक्रमको सञ्चालन शिक्षक हिमलाल न्यौपानेले गरेका थिए।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij