परासी । रामग्राम नगरपालिकाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यसहित विभिन्न वडाका कृषकलाई उन्नत जातका गहुँको बीउ वितरण गरेको छ ।
कृषि उत्पादन र कृषकको आर्थिक समृद्धिलाई प्राथमिकता दिँदै रामग्राम नगरपालिकाले चालु आर्थिक वर्ष २०८३०८४ को वार्षिक कार्यक्रमअन्तर्गत कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको उन्नत बीउ वितरण गरेको हो
नगरपालिकाका नगरप्रमुख धनपत यादवले वडाबाट आएका कृषकलाई बीउ हस्तान्तरण गर्दै वितरण कार्यक्रम गरेका हुन । बीउ हस्तान्तरण गर्दै नगरप्रमुख यादवले कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि नभएसम्म कृषकको आर्थिक अवस्था सुधार हुन नसक्ने बताए । उन्नत बीउको प्रयोगसँगै आधुनिक कृषि प्रविधि अपनाएर उत्पादन बढाउन कृषकलाई आग्रह गरे ।
नगरप्रमुख यादवले आलु खेती गर्ने कृषकका लागि पनि अनुदानको व्यवस्था गरिएको जानकारी दिए । यसका लागि नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउँदै आलु खेतीसम्बन्धी कार्यक्रम समूह वा संस्थामार्फत सञ्चालन गर्नुपर्ने बताए ।
वडा कार्यालयमार्फत संकलन गरिएको कृषकको माग विवरणका आधारमा विभिन्न जातका गहुँको बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले प्रतिबोरा ४० केजीको गहुँको बीउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ। किसानहरुले प्रतिबोराको मूल्य १ हजार ७६० रुपैयाँ भुक्तान गरेकाछन् । जिंक गहुँ–१, विजय, एनएल ९७१, बोर्लग २०२०, आदित्य र बाणगंगालगायतका उन्नत जातका बीउ कृषकलाई उपलब्ध गराईएको कृषि शाखा प्रमुख किरन गुप्ताले जानकारी दिए ।
रामग्राम नगरपालिकामा हाल ५ हजार ९६० हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ। यस क्षेत्रबाट वार्षिक २१ हजार ४५६ मेट्रिकटन गहुँ उत्पादन हुने गरेको कृषि विकास शाखाका प्रमुख किरण गुप्ताले जानकारी दिए ।
चालु आर्थिक वर्षमा गहुँको उन्नत बीउ वितरणका लागि नगरपालिकाले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यस कार्यक्रममा कृषकको तर्फबाट ४४ लाख २५ हजार रुपैयाँ लगानी भएको नगरपालिकाले जनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेड भैरहवाबाट ९८ दशमलव २ मेट्रिकटन अर्थात् २ हजार ४५५ बोरा गहुँको बीउ खरिद गरिएको कृषि शाखा प्रमुख गुप्ताले बताए ।
बीउ वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटालगायतको उपस्थिति रहेको थियो।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत बीउ उपलब्ध गराएकोमा केही कृषकले खुसी व्यक्त गरेका छन्। तर, मागअनुसार पर्याप्त बीउ उपलब्ध हुन नसकेको भन्दै उनीहरूले थप बीउको व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन्।
रामग्राम नगरपालिका वडा नम्बर १४ का कृषक अयोध्या यादवले आफ्नो ६ बिघा क्षेत्रफलमा गहुँ खेती गर्ने योजना रहेको बताउँदै उपलब्ध बीउ पर्याप्त नभएको गुनासो गर्नुभयो। त्यस्तै वडा नम्बर ६ का कृषक रामलखन वनियाले १५ कठ्ठा खेतका लागि अनुदानमा प्राप्त बीउ अपुग हुने भएकाले अन्यत्रबाट समेत बीउ व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए ।
वडा नम्बर ५ का कृषक बुद्धिराम यादवले ८ बोरा बीउ माग गरेकोमा एउटा मात्र बोरा पाएको बताउँदै बाँकी खेतका लागि बीउ कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता व्यक्त गर्नुभयो। अर्की कृषक मैरुन नेसाले आफूले एक बोरा बीउ माग गरेअनुसार एक बोरा नै प्राप्त गरेको बताए ।



