काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ । यो जितसँगै लुम्बिनीले चार खेलबाट सात अंक जोड्दै प्लेअफ सम्भावना बलियो बनाएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले महत्त्वपूर्ण तीन विकेट लिए । उनले चार ओभरमा २३ रन खर्चिए । उनले ६.४ ओभरमा ओपनर तृतराज दासलाई बोल्ड गरे । डार्सीले दोस्रो विकेटका रूपमा सैफ हसनलाई ८.५ ओभरमा एलबीडब्लूको धरापमा पारे ।
त्यसैगरी तेस्रो विकेटका रूपमा उनले अभिषेक तिवारीलाई १०.४ ओभरमा दीलिप नाथबाट क्याच गराए । शेर मल्ल र तिलक भण्डारीले समान दुई विकेट लिए भने रुबेन ट्रम्पेलमनले एक विकेट लिए ।
जनकपुरले अपेक्षा गरिएका खेलाडीहरू चम्कँन नसक्दा ब्याटिङमा सन्तोषजनक प्रर्दशन गर्न सकेन । मुख्य खेलाडीहरू नै रन जोड्ने पक्षमा कमजोर देखिए ।
आठौँ नम्बरमा आएका कप्तान हर्मित सिंहले टिमको इनिङ उकास्ने प्रयास गरेका थिए । उनले ३३ रन बनाउँदै तीन छक्का प्रहार गरे । तर, १७.४ ओभरमा शेरविरुद्ध लामो प्रहारको प्रयास गर्दा उनी बोल्ड हुन पुगे । अविजित रहेका आदित्य मेहताले ३० रन बनाए । सैफ हसन २८ रन बनाएर पभेलियन फर्किए ।
यसअघि विराटनगरविरुद्ध ७१ रनको अर्धशतकीय इनिङ खेलेका उनी लामो सटको प्रयास गर्दा बोल्ड भएका थिए । यसअघि पोखरा एभेन्जर्सविरुद्ध ६१ रनको अर्धशतकीय पारी खेल्दै टिमलाई जिताएका ओपनर तृतराजले १८ रन मात्र बनाउनसके । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्नसकेनन् ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे ।
निरोशन डिकवेलाले २७ रन जोडे । दीलिपले २५, ओपनर आशिफ शेखले २१, रुबेनले १५ र समिम हुसेनले १३ रन बनाए ।
जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यावदले समान दुई विकेट लिए । ललित राजवंशी, कप्तान हर्मित र अभिषेकले समान एक विकेट लिए । ललित जारी सिजनमा ‘गोल्डेन डक’ आउट गर्ने पहिलो बलर बनेका थिए ।
उनले लुम्बिनीका डार्सीलाई ‘गोल्डेन डक’ आउट गर्दै पभेलियन फर्काए । ललितले पहिलोे ओभरको पहिलो बलमा डार्सीलाई राहुलबाट क्याच गराएका थिए । डार्सीले ललितविरुद्ध चौका प्रहार गर्ने प्रयास गर्दा राहुलबाट क्याच हुन पुगेका थिए ।
हारसँगै जनकपुरको प्लेअफ सम्भावना बने कठिन बनेको छ । हाल तालिकाको चौथो स्थानमा रहेको जनकपुरले पाँच खेलमा दुई जित र तीन हार व्यहोरेको छ ।



