तिलोत्तमा। होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूलाई एकताबद्ध गर्दै विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई संस्थागत तथा सुदृढ बनाउने उद्देश्यले होराइजन जीबीएस पूर्वविद्यार्थी मञ्च गठन गरिएको छ। मञ्चको अध्यक्षमा किरण तिवारी चयन हुनुभएको छ।
विद्यालयको सभाहलमा आयोजित पूर्वविद्यार्थीहरूको विशेष भेलाले तिवारीको अध्यक्षतामा २० सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा स्वीकार गिरी, सचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा सुस्मिता पराजुली र सहसचिवमा सदिक्षा पौडेल चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा दिलीप श्रेष्ठ, पुष्पराज पन्थ, सुभाङ्गी थापा, विक्रम गुरुङ, सगुन श्रेष्ठ, प्रविना घिमिरे, प्रवेश आचार्य, वर्षा ज्ञवाली, गौरव पाण्डे, लक्ष्मी भुसाल, मदन पौडेल, आदर्श थापा, नन्दिता खत्री र सताक्षी पाण्डे चयन हुनुभएको छ। विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्य मञ्चको संरक्षक रहनुभएको छ।
मञ्च गठनका लागि विद्यालयका शैक्षिक निर्देशक लक्ष्मणप्रसाद गौतमको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिमा उपप्राचार्य ज्ञानेन्द्र ज्ञवाली र डा. नारायणप्रसाद पन्थ सदस्य रहनुभएको थियो। सोही निर्वाचन समितिको प्रक्रियाअनुसार तदर्थ समिति चयन गरिएको हो।
कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजू श्रेष्ठ र विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै डा. मुरारीप्रसाद पराजुलीले पूर्वविद्यार्थी मञ्च गठन विद्यालयको विगत, वर्तमान र भविष्यलाई जोड्ने महत्त्वपूर्ण पहल भएको बताउनुभयो। उहाँले विद्यालयबाट ज्ञान, संस्कार, अनुशासन र जीवनका अनुभव हासिल गरेका पूर्वविद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित भए पनि विद्यालयसँगको सम्बन्ध सधैँ आत्मीय रहने उल्लेख गर्नुभयो। पूर्वविद्यार्थीहरूको ज्ञान, सीप र अनुभवलाई विद्यालयको विकासमा उपयोग गर्ने उद्देश्यले मञ्च गठन गरिएको उहाँको भनाइ थियो।
कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष विकास श्रेष्ठले पूर्वविद्यार्थीहरूलाई एउटै संस्थागत संरचनामा आबद्ध गर्ने प्रयासको प्रशंसा गर्दै मञ्चको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजू श्रेष्ठले पूर्वविद्यार्थीहरूको संस्थागत आबद्धता विद्यालयको समग्र विकासका लागि महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै शैक्षिक तथा सामाजिक क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्राचार्य गोपालप्रसाद आचार्य, उपप्राचार्यद्वय इन्द्रप्रसाद भुसाल र ज्ञानेन्द्र ज्ञवाली, प्राध्यापक प्रकाश घिमिरे, डा. झुलन पौडेल, जीवनाथ भण्डारी, महेन्द्र अमात्य, न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका प्राचार्य वासुदेव आर्याल, उपप्राचार्य राजीव श्रेष्ठ, शिक्षक, कर्मचारी तथा वर्तमान विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
गठित तदर्थ समितिले आगामी एक वर्षभित्र मञ्चको लोगो तथा नारा छनोट गर्ने, विधानको मस्यौदा तयार गरी साधारणसभाबाट सुझावसहित पारित गर्ने, बैंक खाता खोल्ने र जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्ने योजना बनाएको छ। त्यसैगरी, २०८४ सालको दसैँताका मञ्चको पहिलो अधिवेशन आयोजना गर्ने लक्ष्यसमेत समितिले लिएको छ।
पूर्वविद्यार्थीहरूको सुझाव र सहभागिताका आधारमा मञ्चलाई व्यवस्थित तथा प्रभावकारी बनाउने, आवश्यक निर्वाचन प्रक्रिया अघि बढाउने र संस्थाको भावी कार्यदिशा तय गर्ने विषयमा समेत भेलामा छलफल भएको थियो।
कार्यक्रमको सञ्चालन प्रकाश खनालले गर्नुभएको थियो भने सभाध्यक्षता नवनिर्वाचित अध्यक्ष किरण तिवारीले गर्नुभएको थियो।
विद्यालयको शैक्षिक, सामाजिक तथा संस्थागत विकासमा पूर्वविद्यार्थीहरूको ज्ञान, अनुभव, सीप र योगदानलाई एकीकृत गर्ने लक्ष्यसहित गठन गरिएको मञ्चले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।



