बुटवल । उद्योग व्यापार संघ, बुटवलले मेडिकल तथा सर्जिकल व्यवसायीहरूको वस्तुगत समिति गठन गरेको छ । संघका अध्यक्ष लोकनाथ पन्थीको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न बैठकले खेमराज भुसालको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षहरुमा मदन घिमिरे, नारायण कुँवर र शंकर बराल चयन भएका छन् । त्यसैगरी सचिवमा प्रकाश क्षेत्री, सहसचिवमा राजेश सुनार र कोषाध्यक्षमा प्रदीप ज्ञवाली चयन भएका छन् ।
समितिका सदस्यहरूमा जंगराज टमाटा, शिवबहादुर बुढाथोकी, सुरेश खाती, जीवन क्षेत्री, मणिरत्न, सन्ध्या बस्नेत, निरज अधिकारी, मोतीलाल खनाल र दीपक पोखरेल रहेका छन् । समितिको सल्लाहकारमा नारायण पौडेल, गुणनिधि खनाल र बसन्त पाण्डे चयन भएका छन् ।
वस्तुगत समिति गठन कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा मेडिकल र सर्जिकल व्यवसायीहरूको सहभागिता थियो । समितिले मेडिकल तथा सर्जिकल व्यवसायसँग सम्बन्धित व्यवसायीका समस्या पहिचान, समाधानका लागि सहकार्य र व्यवसायिक हित प्रवर्द्धनमा काम गर्ने अपेक्षा गरिएको छ ।
समिति गठनपछि बोल्दै संघका वरिष्ठ उपाध्यक्ष पदम जिसीले मेडिकल तथा सर्जिकल वस्तुगत समितिले उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गरे । उनले व्यवसायीका समस्या समाधानका लागि संघले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै नवगठित समितिलाई व्यवसायीका साझा समस्या उठान र समाधानका पहलमा सक्रिय हुन आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष जिसीले आगामी पुस ३ गतेदेखि संघको आयोजनामा बुटवल मण्डपमा सुरु हुने पाँचौँ राष्ट्रिय औद्योगिक व्यापार मेला सफल बनाउन पनि समितिले विशेष भूमिका खेल्नुपर्ने बताए । उनले मेलाको तयारी, व्यवस्थापन तथा सफल सञ्चालनका लागि मेडिकल तथा सर्जिकल व्यवसायीहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरे ।
उद्योग व्यापार संघ, बुटवलले व्यवसायीका साझा समस्या समाधान, व्यावसायिक एकता र स्थानीय उत्पादन तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न क्षेत्रका वस्तुगत समिति गठन गर्दै आएको संघका महासचिव विजय आचार्यले बताए ।
मेडिकल तथा सर्जिकल व्यवसायीको समिति गठनले यस क्षेत्रका व्यवसायीलाई संस्थागत रूपमा संगठित गर्दै उनीहरूका व्यावसायिक सवाललाई संघमार्फत उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



