पाल्पा
तीन वर्षअघि कक्षा ८, १० र १२ मा न्यून उत्तीर्ण दरका कारण शैक्षिक उपलब्धिमा पछाडि देखिएको पाल्पाको रिव्दीकोट गाउँपालिकाले छोटो अवधिमै उल्लेख्यनीय सुधार गरेको छ । गाउँपालिकाको निरन्तर लगानी, विद्यालयको शैक्षिक वातावरणमा सुधार, शिक्षक प्रोत्साहन र विद्यार्थीको सिकाइ उपलब्धिमा केन्द्रित कार्यक्रमका कारण तीनवटै तहको उत्तीर्ण दरमा उल्लेखनीय वृद्धि भएको हो ।
२०८० सालमा कक्षा ८ मा ९ प्रतिशत, माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० मा २१ प्रतिशत र कक्षा १२ मा ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । तीन वर्षको अवधिमा सुधार हुँदै २०८२ सालमा कक्षा ८ मा ४० प्रतिशत, कक्षा १० मा ५८ प्रतिशत र कक्षा १२ मा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
गाउँपालिकाको शैक्षिक प्रगतिको तथ्याङ्कअनुसार २०८१ सालमा कक्षा ८ को उत्तीर्ण दर ३९ प्रतिशत, कक्षा १० को ४९ प्रतिशत र कक्षा १२ को ५७ प्रतिशत पुगेको थियो । त्यसको एक वर्षपछि कक्षा ८ र १० को नतिजामा थप सुधार हुँदै कक्षा १२ को उत्तीर्ण दर ७५ प्रतिशत पुगेको हो ।
यो उपलब्धि एकैपटक प्राप्त भएको नभई स्थानीय सरकार गठन भएदेखि नै शिक्षा क्षेत्रमा गरिएको निरन्तर लगानी, योजना र सुधारका प्रयासको परिणाम भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । २०७४ सालमा स्थानीय सरकार गठन भएदेखि नै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरिएकाले समग्र शैक्षिक नतिजामा सकारात्मक परिवर्तन देखिएको कार्कीको भनाई रहेको छ । पालिकाको शिक्षा क्षेत्रमा गरेको लगानी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक मेहनतले शैक्षिक उपलब्धि सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष कार्कीको निचोड रहेको छ ।
गाउँपालिकाले विद्यालयको पठनपाठनलाई प्रविधिमैत्री, व्यावहारिक र गुणस्तरीय बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । कक्षा १ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको छ भने पालिकाभित्रका १४ वटै माध्यमिक विद्यालयमा स्मार्टबोर्डमार्फत अध्यापन हुँदै आएको छ ।
पालिकाको १४ वटै माध्यमिक विद्यालयमा फरक–फरक विषयवस्तु समेटेर ‘सिक्दै, पढ्दै, कमाउँदै र रमाउँदै’ कार्यक्रम लागू गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर र शिक्षकको कार्यसम्पादनलाई प्रभावकारी बनाउन गाउँपालिकाले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले विद्यालयका शिक्षकसँग वार्षिक कार्यसम्पादन करार सम्झौता गरेर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत शिसिर घिमिरेले बताए ।
शिक्षक तथा विद्यार्थीलाई शैक्षिक उपलब्धिका आधारमा प्रोत्साहन गर्ने नीति पनि गाउँपालिकाले अवलम्बन गरेको छ । कक्षा ८, १० र १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गाउँपालिकाले सम्मान गर्दै आएको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताईन । प्राथमिक तहका उत्कृष्ट विद्यार्थीलाई सम्बन्धित विद्यालय र उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकलाई सम्बन्धित वडामार्फत सम्मान तथा पुरस्कृत गर्ने व्यवस्था गरिएको छ ।
शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न गाउँपालिकाले सीमान्तकृत समुदायका बालबालिकालाई लक्षित कार्यक्रमसमेत सञ्चालन गरेको छ । कुमाल समुदायको बाहुल्यता रहेको जोगीथुम क्षेत्रमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिएको छ ।
शिक्षकको मनोबल र पठनपाठनप्रतिको जिम्मेवारी बढाउन गाउँपालिकाले उत्कृष्ट नतिजा दिने शिक्षकलाई सम्मान गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । २०८१ सालमा आधारभूत र माध्यमिक तहका ६२ जना शिक्षकलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। २०८२ सालमा २६ जना र २०८३ सालमा १३० जना शिक्षकलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । २०८३ सालमा उत्कृष्ट नतिजा ल्याउने विधालय, विधार्थी र शिक्षकहरुलाई लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका पूर्व अध्यक्ष लगायतले सम्मान तथा पुरस्कृत गरे ।
यस वर्ष आधारभूत तथा माध्यमिक तहमा आ–आफ्नो विषयमा शतप्रतिशत नतिजा हासिल गराउन सफल १३० जना विषय शिक्षकलाई विशेष कार्यक्रममार्फत सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजाराम रानाभाटले बताए । शिक्षकको मेहनत र योगदानको कदर गर्दा उनीहरूमा पठनपाठनप्रति थप उत्साह, जिम्मेवारी र हौसला बढेको पालिका शिक्षा शाखा प्रमुख भाटको भनाइ छ ।
गाउँपालिकाले शैक्षिक उपलब्धिका आधारमा उत्कृष्ट विद्यालय र विद्यार्थीलाई समेत पुरस्कृत गरेको छ । पालिकास्तरीय कक्षा ८ को परीक्षामा ८७.५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल प्रभात माध्यमिक विद्यालय उत्कृष्ट बनेको छ । त्यसैगरी, एसईई कक्षा १० को परीक्षामा पालिकामा सवैभन्दा बढी ८५.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल सोही विद्यालयलाई सम्मान गरिएको छ । कक्षा १२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल नारायण माध्यमिक विद्यालय, ठिमुरेलाई पनि गाउँपालिकाले सम्मान गरेको छ । रिव्दीकोट पालिकाले कक्षा ८, कक्षा १० एस ई ई र कक्षा १२ मा पालिकास्तरमा प्रथम, द्धितिय र तृतीय हुने विधार्थीहरुलाई नगद पुरस्कार, दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ ।
विद्यार्थीतर्फ कक्षा ८ मा पालिकाभरि सर्वाधिक अंक ल्याउने भैरव मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका स्वीकृत ठकुरी प्रथम, सोही विद्यालयका आशिष ठडराई दोस्रो र भास्कर माध्यमिक विद्यालयका रकिना ठडराई तेस्रो भए । एसईई परीक्षामा नारायण माध्यमिक विद्यालयका आयुष बगाले प्रथम, दुर्गा भवानी माध्यमिक विद्यालयका अमर गाहा दोस्रो र शारदा माध्यमिक विद्यालयका अमर पराजुली तेस्रो भए । कक्षा १२ तर्फ आदर्श माध्यमिक विद्यालयका राशी भट्टराई, दुर्गा भवानी माध्यमिक विद्यालयका दुर्गा पाण्डे र प्रियङ्का अधिकारीले प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरे ।
शिक्षामा गरिएको लगानीको प्रतिफल तत्कालै नदेखिए पनि निरन्तर प्रयास, शिक्षकको सक्रियता, विद्यालयको जवाफदेहिता र विद्यार्थीको सिकाइमा केन्द्रित कार्यक्रमले सकारात्मक नतिजा दिन थालेको रिव्दीकोटको उपलब्धिले देखाएको छ । शिक्षामा भईरहेको लगानी, गरिएको सुधार कार्यक्रमहरुलाई आगामी दिनमा संस्थागत गर्दै सिकाई उपलब्धीहरु थप्दै गएमा भईरहेको सिकाई उपलब्धी तथा शैक्षिक सुधारमा लगातार बृद्धि हुदै जाने देखिन्छ ।



