भैरहवा
पछिल्लो समय सुस्त बनेको वैदेशिक व्यापार र बजार गतिविधिमा क्रमशः सुधारका संकेतहरू देखिन थालेका छन । मुलुकको प्रमुख व्यापारिक नाकामध्येको मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक असोज मसान्तसम्मको अवधिमा पाएको लक्ष्यभन्दा माथि राजस्व संकलन गर्न सफल भएको छ ।
चाडपर्व नजिकिएसँगै बजारमा बढेको माग र सामानको आयात–निर्यातमा आएको तीव्र सुधारका कारण भन्सारको राजस्व संकलनमा नयाँ उत्साह थपिएको हो । कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको विवरणअनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको छ । भन्सार विभागले पहिलो त्रैमासिक अवधिका लागि भैरहवा भन्सारलाई २९ अर्ब २८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेका थिए । तर, व्यापारिक नाकामा बढेको चहलपहलका कारण भन्सारले तोकिएको लक्ष्यभन्दा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । यो उपलब्धि असोज सम्मको निर्धारित लक्ष्यको ११३.८६ प्रतिशत हो । गत आर्थिक वर्ष २०८२–८३ को सोही अवधिको तुलनामा यस वर्ष भन्सार संकलनमा निकै ठूलो सुधार आएको छ ।
गत आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म कार्यालयले २७ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो भने उक्त अवधिमा सरकारले राखेको लक्ष्यको ९७.१४ प्रतिशत मात्रै प्रगति हासिल भएको थियो ।
यस वर्ष भने गत वर्षको सुस्ततालाई तोड्दै राजस्व संकलन प्रगति ११३.८६ प्रतिशत पुगेको भन्सार प्रमुख हरिहर पौडेलले जानकारी दिए । पौडेलका अनुसार औद्योगिक कच्चा पदार्थ, इन्धन तथा सवारीसाधनको आयात नियमित र सहज बन्दै जाँदा संकलनमा उल्लेख्य वृद्धि सम्भव भएको हो । कार्यालयको महिनागत संकलन तथ्यांक हेर्दा साउन महिनादेखि नै संकलनको सुचकांक सकारात्मक दिशामा अघि बढेको देखिन्छ ।
चालु आवको साउन महिनामा ८ अर्ब ५४ करोड रुपैयाँको लक्ष्य तोकिएकोमा ८ अर्ब ८३ करोड २ लाख रुपैयाँ अर्थात् १०३ दशमलव ३९ प्रतिशत राजस्व संकलन भएको थियो । त्यसैगरी भदौ महिनामा ९ अर्ब ७६ करोड रुपैयाँको लक्ष्य राखिएकामा १० अर्ब ६३ करोड १६ लाख रुपैयाँ अर्थात् १०८ दशमलव ८० प्रतिशत दाखिला भयो । असोज महिनामा भने राजस्व संकलनले अहिलेसम्मकै बढी भएको छ । असोजका लागि १० अर्ब ९८ करोड रुपैयाँ लक्ष्य तोकिएकोमा १३ अर्ब ८८ करोड रुपैयाँ अर्थात् १२६ दशमलव ४१ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयको तथ्याङ छ ।
भन्सार राजस्व संकलनमा आएको यो सुधारसँगै भैरहवा नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापारको पनि विस्तार देखिएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै भैरहवा नाका हुँदै ३८ अर्ब २१ करोड ११ लाख रुपैयाँ बराबरका विभिन्न विदेशी वस्तुहरू नेपाल भित्रिएका छन् ।
गत आर्थिक वर्षको असोज महिनामा २३ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात भएको थियो । गत वर्षको सोही महिनाको तुलनामा यस वर्ष असोजमा आयात मूल्य ६३.४३ प्रतिशतले बढेको छ । आयातसँगै भैरहवा नाकाबाट हुने वैदेशिक निर्यात व्यापारमा पनि प्रगति भएको छ । असोज महिनामा मात्रै यस नाकाबाट ४ अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरका स्वदेशी उत्पादनहरू विदेश निकासी भएका छन् ।
गत वर्षको असोज महिनामा २ अर्ब ६६ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो । यस आधारमा यस वर्ष असोजमा निर्यात मूल्य ५६.०१ प्रतिशतले बढेको छ, जसले स्वदेशी उत्पादनको वैदेशिक पहुँच विस्तार भइरहेको पुष्टि गर्छ ।
भैरहवा भन्सारबाट उठ्ने कुल राजस्वमा सवारीसाधन र इन्धनजन्य वस्तुहरूको योगदान सबैभन्दा प्रमुख रहेको छ ।
मोटरसाइकल, जीप, कार, भ्यान, विद्युतीय कार, पिकअप गाडी, पेट्रोल, एलपी ग्यास, फलाम तथा मोबाइल फोनहरू मुख्य राजस्व योगदान वस्तुका रूपमा रहेका छन् । भन्सार कार्यालयका सूचना अधिकृत उद्धव ढुंगानाका अनुसार असोज महिनामा राजस्वका आधारमा प्रमुख १० आयातित वस्तुबाट मात्रै १० अर्ब ५२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । यो रकम उक्त अवधिमा संकलित कुल राजस्वको करिब ५३ प्रतिशत हिस्सा हो । उता निर्याततर्फ भने नेपालमा प्रशोधित भटमासको तेल सबैभन्दा प्रमुख वस्तुका रूपमा रहेको छ । यसबाहेक आल्मुनियम तथा यसका उत्पादनहरू, सेन्थेटिक यार्न (कृत्रिम धागो), चाउचाउ, नुडल्स, पास्ता, फलाम तथा फलामका सामग्रीहरू, पशु आहारका लागि प्रयोग हुने कच्चा पदार्थ, खयर कत्था र सिमेन्ट पनि भैरहवा नाकाबाट बढी निर्यात हुने वस्तुको सूचीमा परेका छन् ।
समग्रमा, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राजस्व संकलन लक्ष्यभन्दा निकै माथि पुग्नुका साथै असोज महिनामा आयात र निर्यात दुवैतर्फ ठूलो वृद्धि देखिनुले भैरहवा भन्सार क्षेत्रमा व्यापारिक गतिविधि तीव्र रूपमा चलायमान भएको देखाएको छ ।
विशेषगरी दशैं–तिहार जस्ता ठूला चाडपर्वका कारण असोजमा बढेको आयात र सोबाट प्राप्त राजस्वले समग्र त्रैमासिक उपलब्धिलाई ऐतिहासिक बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
मधेश आन्दोलन र नाकाबन्दीका बेला सहज मानिएको यो भन्सार नाका राज्यको लागि ठूलो योग्दान गरेको थियो । विस्तारै अन्य नाका सहज हुँदा सामानहरु पनि डाइभर्ट भएको छ । यहाँबाट लक्ष्य पार नहुनुको मुख्य कारण नै बाटोको समस्या रहेको भन्सारको बुझाइछ ।
आन्दोलन, पूर्वाधार र सडक निर्माण लगायतको कार्यले गर्दा केही अवरोध भएको हो । राजश्वमा मुख्य योगदान दिने बस्तु आयत घट्दा राजस्व लक्ष्य प्रभावित हुने गरेको छ ।



