बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पत्रकारितामार्फत् समाज रूपान्तरणमा योगदान पु¥याएको भन्दै दैनिक लुम्बिनीका सहसम्पादक टि.आर. शर्मासहित चार जना पत्रकारलाई ‘डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मान गरेको छ ।
तिलोत्तमा नगरपालिकालाई कर्मथलो बनाएर दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दै आएका शर्मासहित नागरिक दैनिकका लुम्बिनी प्रदेश संवाददाता रेखा भुसाल, तिलोत्तमा टेलिभिजनका समाचार प्रमुख बीपी गौतम र दैनिकपत्र राष्ट्रिय दैनिकका पत्रकार कृष्ण रणपाललाई लगनशीलता, निष्ठा र पत्रकारिताको माध्यमबाट समाजमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।
नगरपालिकाले मंगलबार एक कार्यक्रमबिच चार जना पत्रकारलाई जनही नगद २५ हजार रुपैयाँ राशी र सम्मानपत्रले पुरस्कृत गरेको हो । चारैजना पत्रकारलाई नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल र पुरस्कार छनोट समिति संयोजक सुरेन्द्र श्रीले पुरस्कृत गरेका थिए ।
सो अवसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले लोकतन्त्र र सुशासनका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेकाले स्वर्गीय पत्रकार डायलसन अधिकारीको स्मृतिलाई चीरस्थायी बनाउन उनको सम्मानमा पत्रकारिता पुरस्कार स्थापना गरेको बताए । उनले स्वर्गीय अधिकारी स्वच्छ छविका पत्रकार रहेको स्मरण गरे ।
उप–प्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले २०७६ सालमा आयोजना गरेको लगानी सम्मेलनको क्रममा पूर्वी नेपालको भ्रमणका क्रममा सप्तरीमा कार दुर्घटनामा परी पत्रकार अधिकारीको निधन भएको घटनाले सिंगो नगरपालिका र पत्रकारिता जगतलाई पीडा भएको उल्लेख गरिन् । उनले स्वर्गीय पत्रकार अधिकारीका छोरा र छोरीलाई नगरपालिकाले अध्ययनमा आर्थिक सहयोग पु¥याउने प्रतिबद्धता जनाइन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पत्रकारिता पेशा चुनौतीपूर्ण बनेको अवस्थामा तिलोत्तमा नगरपालिकाले स्थापना गरेको डायलसन स्मृति पत्रकारिता पुरस्कारले क्रियाशील पत्रकारहरुलाई पेशामा टिकिरहन प्रोत्साहन गरेको बताए ।
पुरस्कृत पत्रकारहरुको तर्फबाट बोल्दै पत्रकार शर्माले नगरपालिकाको सम्मानले पत्रकारिता पेशामा थप जिम्मेवार र जवाफदेही बन्न प्रेरित गरेको बताए । उनले स्वर्गीय अधिकारी र आफू तत्कालीन जनसंघर्ष दैनिक र आर्थिक पत्रकार समाज लुम्बिनीमा संगै काम गरेको स्मरण गर्दै सहकर्मी गुमाउँदा पीडाबोध भएको बताए ।सो अवसरमा पुरस्कार छनोट समितिका संयोजक एवं कार्यपालिका सदस्य सुरेन्द्र श्रीले स्वर्गीय पत्रकार अधिकारी तत्कालीन जनसंघर्ष राष्ट्रिय दैनिक, रेडियो नेपाल, रेडियो लुम्बिनी, रेडियो नमस्ते लगायत सञ्चार माध्यममा आवद्व र आर्थिक पत्रकार समाज लुम्बिनीका अध्यक्ष रहेको तथा उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेको जानकारी गराएका थिए ।
स्वर्गीय पत्रकार अधिकारीका छोरा दिपसन अधिकारीले नगरपालिकाको कार्यक्रममा जांदा बुबाले ज्यान गुमाएको हुंदा आफूहरुको शिक्षा दिक्षामा नगरपालिकाको सहयोग हुनुपर्ने र पुरस्कार छनोट समितिमा पनि आफ्नो परिवारको सदस्य रहनुपर्ने धारणा राखे ।
सो अवसरमा नगरपालिकाका शिक्षा शाखा प्रमुख धनिप्रसाद शर्माले स्वर्गीय पत्रकार अधिकरीका छोरा छोरीको अध्ययनमा सहयोग गर्न विगतमा भएको सहमति यथाशीघ्र कार्यान्वयन गर्ने जानकारी गराए । पुरस्कार छनोट समितिमा कार्यपालिका सदस्य सुरेन्द्र श्री सहित वरिष्ठ पत्रकार यमलाल भुसाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल र कल्पना तिवारी सदस्य रहेका थिए । सो अवसरमा स्वर्गीय पत्रकार अधिकारीकी धर्मपत्नी चन्दा भुसाल र छोरा अदिपसन अधिकारीलाई पनि दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।



