बुटवल । लायन्स क्लब अफ बुटवल इलिटको आयोजनामा बुटवलमा जिल्ला गभर्नर अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता ‘इलिट कप’ हुने भएको छ ।
आगामी मंसिर ११ देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न विद्यालयका छात्र भलिबल टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता बुटवल–११ देवीनगरस्थित न्यू होराइजन स्पोर्ट्स क्लबको ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा विजेता टोलीले ६० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, प्रथम उपविजेताले ४० हजार, द्वितीय उपविजेताले २० हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई समेत व्यक्तिगत विधामा पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडी ९एमभीपी०, उत्कृष्ट सर्भर, डिफेन्डर, सेटर, स्पाइकर, ब्लकर, अनुशासित खेलाडी, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक छनोट गरी सम्मान गरिनेछ ।
क्लबका अध्यक्ष सुवास अर्यालले भलिबल खेलको विकास, नयाँ खेलाडी उत्पादन तथा क्लबमार्फत सामाजिक सेवा गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र विकास गर्दै खेलकुदको माध्यमबाट सामाजिक सेवामा समेत योगदान पुर्याउने लक्ष्य रहेको बताए ।



