बुटवल । आदर्श शिक्षक सहकारी संस्था लिमिटेड रुपन्देही र लुम्बिनी केबलकारबीच छुट सम्झौता भएको छ । सम्झौता अनुसार सहकारीका सञ्चालक समिति सदस्य, साधारण सदस्य तथा कर्मचारीहरूलाई लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट हुने छ ।
छुट दिने सम्बन्धी समझदारीपत्रमा लुम्बिनी केबलकार लिमिटेडका तर्फबाट अपरेसन म्यानेजर डिएन कायस्थ र आदर्श शिक्षक सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष खेमराज पाण्डेले हस्ताक्षर गरेका छन् । आदर्श शिक्षक सहकारीमा रुपन्देहीका १३ सय जना बढी शेयर सदस्य छन् ।
सो अवसरमा केबलकारका अप्रेसन म्यानेजर कायस्थले अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित लुम्बिनी केबलकार विश्वमै सबैभन्दा अत्याधुनिक प्रविधि र सुरक्षित केबलकार भएको जानकारी गराए ।
केवलकार यात्रा र कामाख्या मन्दिर दर्शनपछि बसन्तपुरमा घुमफिर र समय कटाउन कम्पनीले जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, रेष्टुरेन्ट, सेमिनार हल लगायत पर्यटकीय पुर्वाधार बनाएको उनले जानकारी गराए ।
केबलकारका व्यवस्थापक घिमिरेले प्राकृतिक हिसाबले स्वच्छ, शान्त हरियालीयुक्त र मनोरम बसन्तपुरमा गर्मीमा शीतल र जाडोमा घाम लाग्ने हुंदा जुनसुकै मौसममा पर्यटकको रोजाइको थलो बनेको र विभिन्न संस्थाको गोष्ठी सेमिनार र विवाह गर्ने थलोको रुपमा समेत विकास हुन थालेको बताए ।
सहकारीका अध्यक्ष पाण्डेले सम्झौताले सहकारीका १३ सय जना बढी सदस्इहरुले केबलकार यात्रामा छुट पाएर लाभान्वित हुने र बुटवलको पर्यटन प्रवद्र्धनमा सहकारीको पनि योगदान पुग्ने बताए ।
केबलकारले बुटवल तथा भैरहवा क्षेत्रका होटल, विद्यालय, कलेज, संघसंस्था, व्यापारिक प्रतिष्ठान र पर्यटनसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य तथा टिकट छुटसम्बन्धी सम्झौता गर्दै आएको छ । लुम्बिनी केबलकार पछिल्लो समय बुटवल र पाल्पालाई जोड्ने प्रमुख पर्यटकीय पूर्वाधारका रूपमा स्थापित हुँदै गएको छ। बुटवलको बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म सञ्चालनमा रहेको लुम्बिनी केबलकारले तराईको समथर भूभागलाई पहाडी क्षेत्रको धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यसँग जोडेको छ।
लुम्बिनी केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो। आईएमई समूहको लगानीमा निर्माण भएको यो परियोजना २०८० जेठ २५ गते ९८ जुन २०२३० औपचारिक रूपमा उद्घाटन गरिएको थियो।




