बुटवल । उद्योग व्यापार संघ बुटवलले रुपन्देही प्रहरीलाई एक लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संघले स्मार्ट पुलिस कार्यक्रम अन्तर्गत कन्ट्रोल रुम भेइकल सञ्चालनका लागि रुपन्देही प्रहरीलाई यो आर्थिक सहयोग गरेको हो । संघले शुक्रबार दशैँ, तिहार, छठ र नेपाल संवतको शुभकामना आदानप्रदान तथा आगामी पुस ३ गतेदेखि बुटवल मण्डपमा गर्न लागेको पाँचौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाबारे सुझाव संकलन कार्यक्रममा संघका तर्फबाट अध्यक्ष लोकनाथ पन्थीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक चन्द्र भण्डारीलाई चेक हस्तान्तरण गरेका थिए ।
रुपन्देही प्रहरीले स्मार्ट पुलिस कार्यक्रम अन्तर्गत कन्ट्रोल रुम भेइकल सञ्चालन गरी आवश्यक परेका स्थानमा सूचना प्रविधि जडित सवारी सधनमा रहेर सुरक्षा व्यवस्था प्रभावकारी बनाउन लागेको छ ।
चेक ग्रहण गर्दै प्रहरी निरीक्षक भण्डारीले संघको आयोजनामा हुने व्यापार मेलामा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे । उनले मेलालाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाउने बताए ।
कार्यक्रममा संघका अध्यक्ष लोकनाथ पन्थीले आगामी मेलालाई उत्कृष्ट र नमुना बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । मेलालाई विगतभन्दा स्तरीय, व्यवस्थित र प्रभावकारी बनाउने गरी तयारी अघि बढाइएको उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुलीले मेलाका सम्भावित चुनौती र समस्याको पहिचान गरी समाधानका उपायसहित अघि बढ्न सुझाव दिए । सबै पक्षको सहकार्यमा मेलालाई नमुना प्रदर्शनी तथा व्यापार मेलाका रूपमा स्थापित गर्नुपर्ने उनले बताए ।
संघका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पाण्डेले सबै पक्षलाई समेटेर प्राप्त सुझावका आधारमा मेला आयोजना गर्न आग्रह गरे । त्यसैगरी सल्लाहकार पुष्पराज ढकाल, पूर्वअध्यक्ष गोविन्द गैरे र पूर्व उपाध्यक्ष सीताराम रसाइलीले मेलालाई उत्कृष्ट र स्तरीय बनाउन सबैको राय–सल्लाहलाई समेट्नुपर्ने बताए । उनीहरूले डिजिटल प्रचारप्रसार र सञ्चारमाध्यमको प्रभावकारी परिचालनमा विशेष ध्यान दिन सुझाव दिए ।
संघका पूर्व कोषाध्यक्ष कृष्ण अर्यालले मेलाको सफलताका लागि सुरक्षा, मञ्च व्यवस्थापन, स्टेज कार्यक्रम र सरसफाइलाई महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने भन्दै आयोजकको ध्यानाकर्षण गराए । उनले मेलामा आउने दर्शक तथा व्यवसायीलाई सहज वातावरण उपलब्ध गराउन व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिनुपर्ने बताए ।
पूर्व कोषाध्यक्ष बाबुराम आचार्यले बुटवल मण्डपमा आयोजना हुने पुसे मेलाले बुटवललाई आर्थिक तथा पर्यटनको हबका रूपमा विकास गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पदम जिसी, वाणिज्य उपाध्यक्ष यमलाल मरासिनी, महिला उपाध्यक्ष माया पाण्डे, सचिव सौरभ भुसाल, लोकनाथ पाण्डे, भरत अधिकारी तथा विभिन्न वस्तुगत समितिका संयोजकहरूले मेलाको सफलताले संघको पहिचान र गरिमा थप बढाउने धारणा राखे ।
कार्यक्रममा संघका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक दिलीप शर्माले स्वागत गरेका थिए भने महासचिव विजय आचार्यले सञ्चालन गरेका थिए ।
संघले आगामी पुस ३ गतेदेखि बुटवल मण्डपमा पाँचौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने तयारी गरेको छ । मेलालाई औद्योगिक उत्पादन, व्यापार, पर्यटन तथा स्थानीय उद्यमशीलताको प्रवद्र्धन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ ।




