गुल्मी। क्लोथ एन्ड फुड बैंक नेपालले गुल्मीको गुल्मीको इस्मा र मालिका गाउँपालिकामा चार सय परिवारलाई न्यानो कपडा वितरण गरेको छ । ‘दशैँ तिहारको बहार, कपडा बैंकको उपहार’ भन्ने मूल नारासहितको न्यानो माया अभियान अन्तर्गत गुल्मी जिल्लाको इस्मा गाउंपालिका वडा नं ३ र ४ का दुई सय परिवारलाई कपडा वितरण गरिएको हो । कपडा वितरण कार्यमा पत्रकार तिलक महतले समेत सहजिकरण गर्नुभएको थियो ।
मालिका गाउँपालिकामा १९२ जनालाई न्यानो कपडा वितरण गरिएको छ।
गीतकार, सङ्गीतकार तथा गुल्मी कलाकार समाजका कोषाध्यक्ष सन्तोष केसीको पहलमा र क्लोथ एन्ड फुड बैंक नेपालको सहयोगमा उक्त न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमका क्रममा सो क्षेत्रमा अझै २० घरपरिवारलाई न्यानो कपडाको आवश्यकता रहेको महसुस गरिएको सन्तोष केसीले बताउनुभयो। उहाँले ती परिवारलाई समेत सहयोग उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो।
क्लोथ एन्ड फुड बैंक नेपालले पुनः प्रयोग अभियानमार्फत आवश्यकतामा रहेका व्यक्तिहरूलाई न्यानो कपडा उपलब्ध गराउँदै आएको छ। संस्थाले चाडपर्वको अवसरमा मात्र नभई सेवाभावका साथ निरन्तर सहयोग र मानवीय सेवाका गतिविधिहरू सञ्चालन गर्दै आएको छ। युवा समाजसेवी कमल जीसीको नेतृत्वमा तीन वर्षदेखि क्लोथ बैंक सञ्चालनमा रहेको छ । क्लोथ बैंकले बाढी पहिरो लगायत प्राकृतिक विपद र आगलागीमा परेर कपडाको आवश्यकता परेका नागरिकलाई लगाउने कपडा र सिरक डसना लगायत निशुल्क वितरण गरेर समाजमा ठूलो योगदान पुराएको छ ।




