कमल सिलवाल
भगवान बुद्ध भौतिक रुपमा कहाँ जन्मनु भयो भन्ने भौगोलिक र ऐतिहासिक तथ्य हामी सबैलाई थाहा नै छ । जन्म आफैँमा महान घटनाक्रम हुँदै हो । एकैछिनको लागि भौतिक जन्मको सिमाभन्दा बाहिर रहेर हेर्ने हो भने भगवान बुद्धले हामी मानिसलाई के सिकाउन खोज्नु भएको रहेछ, आजको जटिलताले भरिएको संसारमा ती सिकाइहरुलाई कसरी आत्मसात् गर्न सकिने रहेछ र बुद्धका शिक्षाहरुबाट व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वलाई नै कसरी सभ्य, सुसंस्कृत र उन्नत बनाउन सकिने रहेछ भन्ने कुराको गहन चिन्तन र मनन् चाँही कति गर्यौँ हाला ? कतै हामी भौतिक जन्म र राजनैतिक सीमाका लडाइँमा अल्मलिइरहेकात छैनौँ ? त्यही सीमामा अल्मलिएर आफ्नै कस्तुरी खोज्ने मृग जस्तै रनभुल्लमा त परिरहेका छैनौँ ? भगवान बुद्धका शिक्षालाई जीवनमा उतार्ने कति प्रयास भए होलान् अथवा गर्यौँ होला ? ‘द्यगममजब धबक दयचल ष्ल ल्भउब’ि भन्ने नारा जोसले लगाइरहँदा हामीले कतिपटक सोच्यौँ ‘बुद्धमार्गमा मेरा पाइला कहाँ छन्’ भनेर । बुद्ध नेपाली भूमिमा जन्मनु जति गौरबको कुरा हो त्यत्तकै गौरब विदेशी भूमिमा बुद्धको उच्च गरिमा देख्दा हुन्छ कि हुँदैन होला ?
भौतिक रुपले भन्ने हो भने भगवान बुद्ध जन्मका हिसाबले हाम्रा छिमेकी, तर कोशौँ परको विद्वानले हामीलाई बुद्धशिक्षा पढाउँदा मेरो ‘द्यगममजब धबक दयचल ष्ल ल्भउब’ि को नाराको हविगत कस्तो होला ?हाम्रो मनस्थिति, हाम्रो व्यवहार र हाम्रा दैनिकीहरुमा बुद्धत्व झल्किन सकेका दिन मात्र बुद्धको भौतिक जन्मको सार्थकता हुन्छ होला नि होइन र ? भगवान बुद्ध केवल भौतिक वा ऐतिहासिक पात्र मात्र त होइनन नि, बुद्ध त एउटा जागृत चेतना, उच्चतम जीवनदर्शन र सुसंस्कृत जीवनपद्दतिको पर्याय हुन् नि, होइन र ? बुद्धत्व त भुगोल, जाति, वर्ग र समयसीमाभन्दा परको कुरा हो नि, होइन र ? त्यसैले यस आलेखमा भगवान बुद्धको भौतिक जन्म कहाँ भयो भन्दा पनि उहाँले के सिकाउनु भयो र त्योअनुसार कसरी बाँच्न सकिन्छ भन्ने कुराको चर्चा गरिनेछ ।
परिस्थितिलाई नियन्त्रण गर्छु भन्ने सोंचले गर्दा आज हामी अशान्त र अनिश्चतताको भुमरीमा रुमल्लिएका छौँ । अतिआस्तिकता र अतिनास्तिकताको बिचमा जीवन यसरी अल्झिएको छ मानौँ जीवन, जीवन नभएर बल्छिमा उनिएको माछो हो । न मान्छे भौतिक सम्पन्नताको चरममा खुसी महशुस गर्न सकेको छ न अलौकिकताको रसमा डुबेर आनन्दित हुन सकेको छ । यस्तो अवस्थामा जीवनलाई जीवनमय बनाउनको लागि अचुक औषधी भनेकै भगवान बुद्धको मध्यमा प्रतिपदा अर्थात् मध्यम मार्ग नै हो । भगवान बुद्धले देशनाका क्रममा कलाम जातिलाई भन्नु भयो–‘कुनै पिटकमा लेखिएको छ भनेका आधारमा अथवा मैले भने भनेका भरमा वा कसैले उपदेश दिएको भरमा होइन, हरेक कुराहरु आफुमा जाँचेर हेर्नु, ठिक भएमा मात्र अनुशरण गर्नू’ । अर्थात् बुद्ध शिक्षा व्यवहारको कसिमा खरो र सर्वकालिक छन् । सहजै जीवनमा लागु गर्न योग्य छन् । तर ती शिक्षाहरुको जीवनमा प्रयोग पक्षलाई छोडेर हामी भौतिक जन्मका विषयमा मात्र किन यतिसारो अल्झिएको होला । भगवान बुद्ध अमृत पिएर अमरत्व प्राप्त गरेर हामी बिच रहनु भएको होइन नि ।वहाँ त कालजयी शिक्षा र व्यवहार परक उपदेशका कारण अजेय हुनुभएको हो नि, होइन र ।
मानिसलाई जीवन चिनाउनका लागि चार आर्यसत्यको उद्घाटन गर्दै दुःख र यसको समुदय अनि निवारणसम्मको मार्ग प्रसस्त गर्ने भगवान बुद्धको शिक्षा केवल नास्तिकतावादी दर्शन होइन, यो त उपचारात्मक मार्ग हो जसले दुःखलाई चिनाउँछ, कारण सिकाउँछ अनि त्यसबाट मुक्तिको सर्वोत्तम मार्ग पनि प्रसस्त गर्दछ । दुःखको विश्लेषण र वर्गीकरण गर्दै दुःख अन्त्यको उपायहरु सहित दुःख निवारणका मार्गहरु पनि छर्लङ्ग बनाउने भगवान बुद्धको ज्ञानलाई आत्मसात् गर्नु भनेको आसक्तिको नष्ट गर्ने क्षमता विकास गर्नु हो । बुद्ध शिक्षाको मूल भनेको नै आसक्तिको नाश हो । जब आसक्ति नष्ट हुन्छ तब ‘म’,‘मेरो’ जस्ता सबै कुरा हराएर जान्छन् । न भुगोल रहन्छ, न भौतिक सीमा रहन्छ । अनि शरीरको जन्मस्थानको उद्घोष मात्र होइन ज्ञानको आलोकको व्यापीकरण हुन्छ । र यो सम्भव छ । किनभने भगवान बुद्ध स्वयमंले भन्नु भएको छ–‘सबै मानवमा बुद्धबीज छ’ । आवश्यकता छ त केवल त्यो बुद्धबीज मानवले आलौलिक इश्वरीय आदेश वा उपदेश होइन बरु व्यवहारिक जीवनशैली र नैतिक मार्गको अनुशरण गर्नु मात्र ।यी दुबै कुराको लागि भगवान बुद्धले नै उत्कृष्ट मार्ग पनि प्रस्तुत गर्नु भएको छ जसलाई आर्य अष्टाङ्गिकक मार्ग भनेर चिनिन्छ ।
आर्य अष्टाङ्गिकक मार्ग केवल धार्मिक उपदेश या प्रवचनका क्रममा फुत्त निस्किएका आदेश होइनन् । यी त जीवनका सबै क्लेश र कष्टहरुबाट स्थायी छुटकाराका मार्गहरु हुन् । ज्ञान (प्रज्ञा), नैतिकता (शील) र मानसिक अनुशासन (समाधि) गरी तीन खण्डमा बर्गीकृत आठवटा मार्गहरुले जीवनलाई सहज, सर्वप्रिय र आनन्दमय बनाउनका लागि मार्गदर्शन प्रदान गर्दछन् । वास्तविकता प्रतिको सही दृष्टिकोणका साथ क्लेशमुक्त सही निर्णय लिन सक्नु ज्ञानवान मानिसको पहिचान हो । झुट र छलबाट अलग रही सत्य र प्रिय वचन प्रयोग गर्दै अनैतिक क्रियाकलापबाट टाढा रहनु अनि इमान्दारिता र अहिंसा युक्त आजिविका रोज्नु, खुसी जीवनका लागि आवश्यक सर्तहरु हुन् । दैनिक जीवनमा व्यक्तिगत स्वार्थ र लाभबाट प्रेरित व्यक्ति तृष्णाको खाल्डोमा यसरी फस्छ कि उसका अगाडी निर्वाण फगत उपदेश जस्तो मात्र बन्छ ।तर बचन, कर्म र व्यवसायमा सहि, इमान्दार र नैतिकवानहरु नै वास्तविक बुद्धबीजहरु हुन् । मनमा उठ्ने नकारात्मकतालाई रोकेर सकारात्मक उर्जा सहित निरन्तर प्रयासरत मान्छे सजगता र सचेतनाको बाटो हुँदै अनन्त प्रज्ञा प्राप्त गर्न सक्षम हुन्छ । त्यही नै दिगो खुसी हो । त्यही नै निर्वाण हो । अष्टाङ्गिक मार्गहरु खुड्किलाहरु हुन् जसले सुखद जीवनको गन्तव्य निश्चत गर्छन् ।
परिवर्तनशीलताको नियम मात्र स्थायी छ, बाँकी सबै अनित्य छन् । संसारमा जे छ र जसरी छ त्यसको उत्पत्ति हुनुको कारण नै त्यो एकदिन नाश हुन्छ भन्ने प्रमाण हो । वस्तु, अवस्था वा परिवेश केही पनि स्थायी छैनन् । यो निरन्तर परिवर्तनशीलताको नियम बुझ्न नसक्दा नै हो हामी तृष्णाको जालमा परिरहने । इच्छा र आवश्यकता बिचको अन्तर छुट्याउन नसकी आज हामी पलपल दुःखको भुमरीमा फँसिरहेका छौँ । बुद्धको मार्ग दुःखमुक्तिको मार्ग हो । बुद्ध शिक्षा सम्पूर्ण जीवनकला हो । अन्धविश्वास, पाखण्ड र भ्रम चिर्दै स्वयमको माध्यमबाट ज्ञानको अनुभव गर्ने वैज्ञानिक दृष्टिकोण हो । भगवान बुद्धको जन्मस्थानको महिमामण्डित मात्र गर्नुभन्दा बुद्धमार्गमा पाइला चाल्नु बुद्धत्व प्रतिको वास्तविक सम्मान हो ।
भगवान बुद्ध केवल मान्छेको स्वयम्को आत्मसुधारका लागि मात्र होइन, सम्पूर्ण प्राणी प्रतिको करुणा भाव जागृत गराउन सफल प्रेम र करुणाका महागुरु हुनुहुन्छ । बुद्धका करुणा र मैत्री शिक्षाको प्रभावका कारण सम्राट अशोक जस्ता दिग्विजयका लागि निस्किएका शासकहरु बुद्ध अनुयायी बने । त्यसैले करुणाको भाव नै उच्चतम मानवीय भाव हो । आफ्नो बारेमा कसले के बिचार गर्छ भन्ने कुरातर्फ ध्यान निदई अरुको आवश्यकतालाई महसुश गरी अरुको हितका लागि कर्म गर्नु नै करुणाको उच्चतम प्रदर्शन हो ।
आफूलाई मार्न पटक–पटक प्रयास गरेका देवदत्त प्रति पनि उत्तिकै सहानुभूति र करुणा प्रकट गर्ने क्षमता नै भगवान बुद्धले सिकाउनु भएको करुणाको अद्वितीय ज्ञानको प्रमाण हो । भगवान बुद्धको दृष्टिमा करुणा र प्रेम भन्ने कुरा कुल, जात, काल वा वर्ग सापेक्ष हुँदैन । प्रेम र करुणा प्रकट गर्न कारण वा अवसर हुनु पर्दैन । अर्थात् अकारण प्रेम र करुणा निरन्तर वर्षाउन सक्ने क्षमता भएका कारण नै भगवान बुद्ध करुणा र प्रेमका सर्वकालिक गुरु बने । आजको दैनिकीमा बुद्धको तिनै करुणा र प्रेमको अंश मात्र पनि हाम्रो जीवनमा उतार्न सक्यौँ भने स्वयम्, परिवार, समाज र विश्व परिवेशलाई जीवन्त र रहन योग्य बनाउन सक्छौँ । अनि मात्र बुद्धको भौतिक जन्म सार्थक हुन्छ । आफूमा भएको बुद्धबीजलाई चिनौँ । एकछिनको खहरे होइन, दीर्घजीवी प्रशान्त बनौँ । भौगोलिक अवस्थिति र राजनैतिक सीमा पनि भगवान बुद्धकै अनित्य सद्धान्तमा अडेका छन् । तर चेतना गतिशील छ । फूलको सुगन्धलाई एक स्थानबाट अर्को स्थानसम्म पुग्न हावाको आवश्यकता पर्दछ, जता हावा वहन्छ त्यतै सुगन्ध फैलन्छ, तर चेतनाको सुवास हावाको प्रवाहको विरुद्धमा पनि पुग्छ । बुद्ध चेतनालाई आत्मसात गरौँ । अहंको प्रमाद छोडेर करुणाको मार्ग अनुशरण गरौँ ।
भवतु सब्ब मंगलम्
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्नातकोत्तर तह प्रायोगिक बौद्ध अध्ययनतर्फ अध्ययनरत विद्यार्थी हुन् ।)




