कमल सिलवाल
मानिसको जीवन निरन्तर यात्राको अर्को नाम हो । एउटा यात्रा, जहाँ अनवरत रुपमा खोजी कार्य चलिरहन्छ । त्यसैले जीवनलाई अनवरत खोजीको कथा हो भन्न पनि सकिन्छ । भौतिक सम्पन्नताको खोजीमा निस्किएको मान्छे विस्तारै मानसिक समृद्धिको खोजीतर्फ लाग्छ अनि खोज्न थाल्छ, सुख के हो, सत्य के हो, जीवनको अर्थ के हो । जब मान्छे आफैँलाई खोज्न आरम्भ गर्छ, तब ऊ दुई अतिवादका बिचमा अल्झिन पुग्छ । एउटा अति जसले यथार्थ र दृश्य वस्तुलाई जोड दिन्छ अनि अर्को अति जसले अलौकिक सत्यको बाटोलाई मात्र जोड दिन्छ । एकातर्फ संसारलाई ठोस र स्थिर मान्ने अतिवाद छ भने अर्कोतर्फ सबै कुरालाई मिथ्या र खालि ठान्ने अतिवाद छ । यिनै दुईको द्वन्द्वको चक्रबाट मुक्तिको बाटो खोज्ने मानवीय प्रयासको उत्कृष्ट अभिव्यक्ति हो, बौद्ध धर्मको माध्यमिक दर्शन । यो दर्शन केवल मानवीय साधन या औजार मात्र होइन, यो दर्शनको जगमा एउटा सामान्य लाग्ने, तर गहन प्रश्नको समाधान लुकेको छ । वास्तविकताको स्वरुप र त्यो स्वरुपको दर्शन गराउने दक्षता लुकेको छ ।
आजको हाम्रो दैनिक जीवनलाई नियाल्ने हो भने हामी हाम्रा वरपरका वस्तुहरुलाई कति गहिरो गरी चाहान्छौँ ? ‘म’ र ‘मेरो’ को भावबाट कति नियाल्छौँ ? आफू हुनुको अर्थ र ‘म’ को अस्तित्वलाई कति गहिरोसँग प्रेम गर्छौँ ? एकपटक सोचेर हेरौ त । आफूलाई ठोस, स्वतन्त्र र स्वायत्त अस्तित्वको रुपमा हेर्न खोज्छौँ । यही स्वतन्त्र र स्वायत्त चिज नै ‘अहं’ र ‘आत्मा’ को रुपमा परिभाषित हुँदै यसैबाट पूर्णरुपले सुरक्षा र पहिचानको अपेक्षा राख्छौँ । अर्कोतर्फ हेर्ने हो भने कुनै कारणवस गहिरो दुःख वा संकट आइपर्दा दुविधामा पर्छौँ र विचलित हुन पुग्छौँ । संसारमा उपलब्ध भौतिक सुख–सुविधा प्रतिको आशक्ति पनि उत्तिकै छ । सम्बन्ध र सुख सुविधा कहिल्यै छुट्दैनन् वा आफ्ना लागि स्थिर छन्, जस्तै गरेर बाँच्ने प्रयास गर्छौँ । तर समयले बिस्तारै सिकाउँदै लैजान्छ, जसलाई स्थिर र आफ्नो मानेको थियो, ती त सबै परिवर्तनशील र अस्थायी रहेछन् । भौतिक सुखसुविधा, साधन स्रोत र सम्बन्धमा खोजिएको स्थायित्व र समयले देखाइदिने परिवर्तन, यही नै अस्तित्वले मानवलाई प्रदान गरेको मौलिक पीडा हो । यसैलाई बौद्ध दर्शनले दुःखको रुपमा परिभाषित गर्दछ ।
माध्यमिक दर्शनका प्रतिपादक आचार्य नागार्जुनले मानवले भोगेको यही नियतिलाई केन्द्रमा राखेर भगवान बुद्धले बताउनु भएको प्रतित्यसमुत्पादको सिद्धान्तलाई विस्तृत व्याख्या गर्दै मूलमाध्यमिककारिका शास्त्रको सिर्जना गर्नुभयो । भगवान बुद्धको शिक्षालाई व्यापीकरण गर्ने क्रममा आचार्य नागार्जुनले महसुश गर्नु भयो, मानिस आ–आफ्नै दृष्टिकोणलाई अन्तिम सत्य मानेर द्वन्द्वमा फँस्दै गइरहेको छ । पारिवारिक कलह, सामाजिक द्वेष र राष्ट्रहरु बिचको युद्ध केबल आफ्नो दृष्टिकोण मात्रै अन्तिम सत्य मान्नु र त्यसैको मूर्त रुपलाई मात्र स्वीकार गर्न खोज्नु हो । शाश्वतवाद र उच्छेदवादका बिचमा अल्झिएको मानवको जीवन यात्रालाई सहज गन्तव्य प्रदान गर्नका लागि भगवान बुद्धले बताउनु भएको मध्यमा प्रतिपदाको अनुशरण गर्दै आचार्य नागार्जुनले आफ्नो कृति मूलमाध्यमककारिकामा शून्यताको मानवीय अवधारणा प्रस्तुत गर्नु भयो ।
शून्याताः भ्रम बिहीन मानवीय दृष्टिकोण
बौद्ध दर्शनको शून्यतालाई प्रायः गलत बुझाइन्छ, बुझिन्छ । शून्यता भनेको निराशावादी, शून्यवादी या ‘कुनै पनि चिज नहुने’ भन्ने भाव होइन । हामी संसारलाई जुन रुपमा देख्छौँ, त्यो रुपमा यो संसार अस्तित्व मै छैन भन्ने भाव शून्यता होइन । बरु हामीले जे देख्छौँ त्यो नै यो संसारको अन्तिम सत्य होइन भन्ने चै शून्यताको सिद्धान्त हो । शून्यतालाई अन्तनिर्भरताको सिद्धान्त पनि भन्न सकिन्छ । शून्यताको सिद्धान्तले भगवान बुद्धको अनित्य र अनात्मको शिक्षालाई सहज रुपमा व्याख्या गर्न मद्दत पु¥याउँछ । संसारमा कुनै पनि वस्तु स्वतन्त्र रुपले आफैँ वा आफ्नै शक्तिले अस्तित्वमा आएको होइन, त्यो बस्तु अस्तित्वमा हुनको लागि असंख्य कारण र अवस्थाहरुको सहभागिता रहेको हुन्छ भन्ने मत नै शून्यताको मत हो ।
विभिन्न कारणहरुबाट एकिकृत भएर बनेका पानीका बिन्दुहरु संकलित हुँदै जब बग्न थाल्छन्, हामी तिनलाई नदीको संज्ञा दिन्छौँ । ‘नदी’ भन्ने संज्ञाले व्यवहारिक सहुलियत त प्रदान गर्ला, तर यो शब्दले कुनै ठोस, स्वतन्त्र र स्थायी सत्ताको प्रतिनिधित्व गर्न सक्दैन । हामीले देख्ने वा भन्ने नदी त मौसम, भौगर्भिक संरचना, मानवीय हस्तक्षेप जस्ता असंख्य कारणहरुबाट प्रभावित हुन्छ । यो त एउटा प्रक्रिया मात्र हो । ठीक त्यसैगरी ‘म’ भन्ने अहं पनि शरीर, मन, संस्कार, अनुभव, समाज जस्ता असंख्य अवयवहरुको अस्थायी गठजोड मात्र हो । यो न त जन्मदेखि नै स्थायी छ, न त मृत्युपछि नै उस्तै रहने छ । यसको कुनै स्थायी तत्व वा आत्मा छैन, ठोस सार छैन । यो शून्य छ, अर्थात् स्वतन्त्र, स्वनिर्भर अस्तित्वबाट खाली छ । यही खालीपन या शून्यतालाई आत्मसात गर्न नसक्दा हामी दुःखको भुमरीमा फँसेका छौँ । जब जब हामी बस्तु वा व्यक्तिलाई ठोस वा स्थायी मान्छौँ, त्यस प्रतिको आशक्ति बढ्न थाल्छ । त्यही आशक्तिले दुःख निम्त्याउँछ । जब शून्यताको अनुभव हुन्छ, परिवर्तनशीलताको ज्ञान हुन्छ र अस्तित्व नै एक अर्कामा अश्रित रहेको कुरा बोध हुन्छ, वास्तविकतालाई भ्रम बिना स्वीकार गर्ने क्षमता बढ्छ । यही नै मानवीय रुपान्तरण हो । यही नै दुःख मुक्तिको उपाय पनि हो ।
माध्यमिक दर्शनको व्यवहारिक दृष्टिकोण
माध्यमिक दर्शन केवल आचार्य नागार्जुनको दार्शनिक पाण्डित्य मात्र होइन । यो त जीवन बाँच्न सिकाउने सुत्र हो, बाँच्ने कला हो । माध्यमिक दर्शनको अनुशरणले स्वयम्, परिवार, समाज र विश्वलाई नै खुसीसाथ बाँच्ने आधार प्रदान गर्दछ ।
आफूप्रतिको दृष्टिकोणमाः
हामी प्रायः आफूलाई सफलता र असफलताको तराजुमा जोखिरहेका हुन्छौँ । स्वयमलाई या दोस्रो व्यक्तिलाई त्यसरी नै परिभाषित गरिरहेका हुन्छौँ । बिर्सन्छौँ कि, यी कुराहरु त समय र सामाज सापेक्ष हुन्छन् । जब हामीलाई माध्यमिक दर्शनको ज्ञान हुन्छ तब ती सफलता र असफलता जस्ता कुराहरुको अस्तित्वमाथि नै प्रश्न उठ्न आरम्भ हुन्छ । जब ती संज्ञाहरुको निरपेक्ष अस्तित्व भेट्दैनौँ, तब अहंकार तथा निरशा जस्ता भ्रमहरुबाट मुक्त हुन्छौँ र आ–आफ्नो यात्रामा केन्द्रित हुन्छौँ । सफलता र असफलता जस्ता विषयहरु केवल संज्ञा हुन्, स्वभाव नभएका शून्य हुन भन्ने ज्ञान भएको मानिस अनावश्यक प्रतिस्प्रधामा सहभागी हुँदैन बरु सत्यको यथार्थ बोधका साथ सुखद यात्रामा निरन्तर बढिरहन्छ ।
समाजिक र पारिवारिक सम्बन्धहरुमाः
आजको दैनिकीमा शत्रु र मित्र जस्ता संज्ञाहरु सामान्य बनेका छन् । व्यक्तिलाई ठोस र स्थायी रुपमा देख्नाले, बुझ्नाले हामी उसमा शत्रुता वा मित्रता देख्न थाल्छौँ । वस्तु जस्तै चेतना पनि निरन्तर परिवर्तनशील छ भन्ने माध्यमिक दर्शनको भाव स्वीकार्ने हो भने घृणा र मोह जस्ता विषयहरुबाट मुक्त भई व्यक्तिलाई जस्तो छ त्यस्तै रुपमा स्वीकार्न सक्ने क्षमताको विकास हुनपुग्छ । शत्रुता र मित्रताको भाव शून्य हुन्छ । यही भाव नै सम्बन्धलाई स्वस्थ बनाउने आधार हो ।
संवेदनाहरुको व्यवस्थापनमाः
‘मलाई चिन्ता छ’, ‘मलाई डर छ’, ‘मलाई तनाव छ’, जस्ता पदावलीहरु आजका हाम्रा दैनिकी हुन् । चिन्ता, डर, तनाव जस्ता कुराहरुलाई वास्तविक भावना सम्झेर तिनीहरुमा नै अल्झेको मानिस आफैँलाई हानी गर्न पुग्छ । यस्ता दुर्घटनाहरुको समाचार नियमित जस्तै सुनिन्छन् । यी त भावना हुन् वास्तविकता होइनन्, यिनीहरुको स्वतन्त्र अस्तित्व छैन, अस्तित्वविहीन शून्य छन् भन्ने कुरा बुझ्न र स्वीकार गर्न नसक्नु नै त्यस्ता दुर्घटनाहरुको कारण हो । भावनाहरु त समुन्द्रमा उठ्ने छालहरु जस्तै अस्थायी तरंग हुन् भन्ने कुरा ज्ञात भएको अवस्थामा मानसिक स्वास्थ्यको लागि अनमोल वरदान हुनेछ । शून्यताको ज्ञानले भावनामा डुब्न लागेको अवस्थामा किनारामा डोहो¥याएर ती भावनाहरुलाई तटस्थ निरीक्षण गर्ने क्षमता प्रदान गर्दछ । माध्यमिक दर्शनले यहि सिकाउँछ । भावनाहरु वा संवेदनाहरु उत्पन्न हुन्छन् अनि टुङ्गिन्छन् पनि । परिस्थितिले निम्त्याएका संवेदनाहरु स्थायी छैनन् । यी स्वभावहीन तरंगहरुलाई प्रतिक्रिया जनाउनु उपयुक्त हुँदैन । यत्ति कुरा बुझेको मानिस सुखद जीवन बाँच्न सफल हुन्छ ।
अन्तरसंघर्षको समाप्तिमाः
प्रत्यक्ष या परोक्ष दुबै रुपमा आज विश्व युद्धको चपेटामा छ । युद्धको मूल कारण भनेकै ‘आफ्नो’ भन्ने भाव हो । आफ्नो राष्ट्र, धर्म, विचार, जात, वर्ग जस्ता कुरालाई नै अन्तिम सत्य मान्नाले मान्छे मान्छे बिचमा दुरी बढेको छ, बैमनस्यता बढेको छ । एकअर्काको धारणा र दृष्टिकोण सुन्न पनि तयार छैनौँ । यो अवस्थामा माध्यमिक दर्शन मानव जातिको लागि अमूल्य नीधिका रुपमा उपस्थित भएको छ । जब मानिस शून्यतालाई मात्र अन्तिम सत्यका रुपमा ग्रहण गर्न आरम्भ गर्छ, तब उसमा सबैका भाव र विचार सुन्ने र समाधान केन्द्रित व्यवहार गर्ने सीपको विकास हुन्छ । यहि नै अहिंसा र करुणाको आधार हो ।
अन्तमाः
ग्रीक दार्शनिक हेराक्लिटसले भनेका थिए, ‘तपाईँ एउटै नदीमा दुई पटक प्रवेश गर्न सक्नु हुन्न,’ माध्यमिक दर्शनले पनि यहि गतिशीलतालाई केन्द्रमा राखेको छ । वास्तवमा माध्यमिक दर्शन मानिसले भोग्दै आएको दुःख र पीडाको व्यवहारिक समाधान हो । यसले भौतिकवादी लालसा र आध्यात्मिक निराशाको द्वन्द्वबाट निकालेर जीवनको सम्पूर्णतालाई स्वीकार्ने कला प्रदान गर्दछ । सुख–दुःख, लाभ–हानी, यश–अपयश जस्ता भावनात्मक कुराहरुलाई समान रुपमा ग्रहण गर्ने क्षमता प्रदान गर्दछ । वास्तवमा माध्यमिक दर्शनको शून्यता सुखद जीवनको यथार्थवादी आशावाद हो । माध्यमिक दर्शन हाम्रो आन्तरिक यात्राको स्पष्ट मानचित्र हो । यस्तो मानचित्र जसले कुनै स्थानमा बाँध्दैन बरु मुक्त गराउँछ । संसारको परिवर्तनशीलता, अन्तर्निर्भरता र अद्भुत जटिलतालाई सहज रुपले नियाल्न मद्दत पुर्याउने दर्शनको अध्ययनले हामीलाई करुणा र ज्ञानको बोध गराउँछ । यो नै भ्रमरहित पूर्णरुपमा जागृत भएर बाँच्न सिकाउने ‘बुद्धत्व’ को मानवीय अवस्था हो ।
भवतु सब्ब मंगलम्
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्नातकोत्तर तह प्रायोगिक बौद्ध अध्ययनतर्फ अध्ययनरत विद्यार्थी हुन् ।)




