कमल सिलवाल
धम्मपद, जसका बारेमा जति लेखे पनि, जति बोले पनि कमै हुन्छ । धम्मपदलाई मानव जीवनको पथप्रदर्शक भने पनि अत्युक्ति हँुदैन । आचार्य बुद्धरक्षित भन्नु हुन्छ–“धम्मपद सामान्य मानिसका लागि परामर्शदाता हो, बौद्धिक व्यक्तिका लागि सोंच्न बाध्य बनाउने ग्रन्थ हो भने साधकका लागि व्यवहारिक मार्गदर्शक हो ।” यस आलेखमा धम्मपदको बहुआयामलाई नकेलाई यसको मनोवैज्ञानिक पाटो मात्र केलाउने प्रयास गरिनेछ । जसलाई हामी आधुनिक मनोविज्ञान भनेर चिन्छौँ, ती समय सापेक्ष र देशकाल सापेक्ष छन्, तर भगवान बुद्धका वाचनहरु सर्वकालिक र सार्वभौव छन् । भगवान बुद्ध कै वचनहरुको संग्रहको रुपमा रहेको धम्मपदमा मनको विश्लेषण कसरी गरिएको छ, धम्मपदका गाथाहरुले मनलाई कसरी व्यक्त गरेका छन् भन्ने कुरा नै यस लेखको केन्द्र हो ।
धम्मपद, २६ वग्ग अर्थात् वर्गहरुमा संगठित ४२३ गाथाहरु संकलन भएको ग्रन्थ हो । यो ग्रन्थ यसकारण पनि प्रमुख छ कि यसमा न कुनै अलौलिक तत्वको वर्णन छ, न स्वर्ग–नर्क कै कुरा छन् । यसमा त जीवन बाँच्ने कला, आफू हुनुको अर्थ, आफैँलाई शुद्ध बनाउने उपाय र स्वयमको पहिचानका सन्दर्भमा विश्लेषण गरिएको छ । धम्मपद, संसारका प्रायः सबै भाषामा अनुवादित ग्रन्थ हो ।
आजको बजारमा जबरजस्ति घिस्याउन खोज्ने स्व–निर्माण अर्थात् ‘सेल्फहेल्प’ नामका पुस्तकाकारहरुले ठूलो हिस्सा ओगटेका छन् । ती र त्यस्ता सबै पुस्तकाकारहरुको जननी धम्मपद नै हो भन्दा अत्युक्ति नहोला । प्रसिद्ध बौद्ध विद्वान तिक न्यात हन्ह भन्नुहुन्छ–“म यो सानो ग्रन्थलाई सधँै आफ्नो साथमा राखेर हिँड्ने सल्लाह दिन्छु, यसलाई ऐनाजस्तै गरेर प्रयोग गर्नुहोस् । यसले तपाईँको व्यवहारलाई स्पष्ट प्रतिविम्बित गर्नेछ ।”
भगवान बुद्धले आफ्ना शिक्षालाई दुई प्रकारले सिकाउनु भयो । जे सिकाउन खोजेको हो त्यहि अनुरुपको व्यवहार गरेर, त्यहि अनुरुप बाँचेर र देशनाको ज्ञान अनुरुप बाँच्न सकिन्छ भनेर प्रमाणित गरेर सिकाउनु भयो भने उपाय कुशलताको प्रयोग गरी देशना मार्फत् पनि आफ्ना शिक्षाहरु प्रदान गर्नु भयो । बुद्धका देशनामा सदाचार र शीलको विशेष स्थान पाइन्छ । सदाचारी र शीलवान मनको निर्माणमा मार्गहरु भगवान बुद्धका शिक्षा हुन् । मनको गहिराइसम्म पुगी मनको मनोवैज्ञानिक विश्लेण र मनलाई माझ्ने उपाय भगवान बुद्धका देशनामा पाइन्छन् ।
धम्मपदको पहिलो गाथा नै मनको चरित्रबाट आरम्भ छ । मनोपुब्बाङ्गमा धम्मा, मनोसेट्ठा मनोमया ।
मनसा चे पदुट्ठेन, भासति वा करोति वा । ततो नं दुक्ख मन्वेति, चक्कंव वहतो पदं ।।
मन सबै धर्म (कर्म) हरुको मूल हो । सबै कर्मको लागि मन नै प्रधान छ, मन नै सबै कुराको उत्पत्तिको मूल हो । अशुद्ध मनले कुनै कर्म हुन्छ वा बोलिन्छ भने दुःखले त्यसरी नै पछ्याउँछ जसरी गोरुका पद चिन्हलाई गाडाका पाङ्ग्राहरुले पछ्याउँछन् ।
हामी कसैप्रति दुराग्रह पालेर बस्छौँ, कसैलाई चोट पु¥याउने वा हानी गर्ने योजना बनाउँछौँ भने त्यस्ता दुराग्रह वा योजनाहरुले दोस्रो व्यक्तिलाई भन्दा पहिले आफैँलाई दुखित बनाइ रहेको हुन्छ । मनमा शत्रुता उत्पन्न हुनु भनेको स्वयम्को मानसिक स्थितिमा खलबली हुनु हो । हानी पु¥याउने सोंच बनाइएको व्यक्तिलाई हानी होला न होला, तर पहिले आफैँलाई मानसिक हानी पुगिसकेको हुन्छ । मनको शुद्धता नै बाहिरी संसारको शुद्धता हो ।
जसको मन सफा छ, क्लेश रहित छ, उसको व्यवहार, बोली र दृष्टिकोणमा पनि शुद्धता नै झल्कन्छ । मनमा क्लेश र घृणा भरिएको मान्छे कहिल्यै खुसी हुन सक्दैन । सम्पत्ति र वैभवले मात्र खुसी दिने रहेनछ भन्ने कुरा त आजकै समयमा पनि विश्वका धनाढ्य भनेर चिनिएकाहरुले पनि विभिन्न संघसंस्थाहरुका माध्यमबाट दान र उपकार आरम्भ गरेको देखेकै छौँ, सुनेकै छौँ । सम्पन्नताले खुसी दिन्थ्यो भने किन दान र परोपकारमा सहभागी हुनु पथ्र्यो र ? धनसम्पत्तिले भौतिक सुख त देला तर मानसिक सुख र शान्तिका लागि मनको शान्ति आवश्यक छ । मनलाई शान्त र सुखी बनाउन यसमा जमेका लोभ, मोह, तृष्णा, इष्र्या जस्ता क्लेशहरुलाई पखाल्नु जरुरी छ । सफा मनले कर्म गर्नेलाई छायाँले साथ दिए जस्तै मानसिक सुखले निरन्तर साथ दिन्छ । मन निर्मल नहुने मानिस सधैँ बैरभाव पालेर बस्छ । आफूले को–कोबाट कस्ताकस्ता दुःख पाएँ भनेर हिसाब किताब गरेर बस्छ । यस्तो मानिस यति अशान्त हुन्छ कि उसले खुसीको एक पल पनि अनुभव गर्न सक्दैन र खुसी हुनको लागि विभिन्न कृत्रिम साधनको सहारा लिन थाल्छ । धम्मपदको पाँचौ गाथाले भन्छः
न हि वेरेन वेरानि, समन्तीध कुदाचन । अवेरेन च सम्मन्ति, एस धम्मो सनन्तनो ।
मनमा शत्रुता पालेर कहिल्यै मित्रताको धर्म निर्वाह गर्न सकिंदैन । शत्रुताको भावले शत्रुता निर्मुल हुँदैन । मित्रताको भाव नै शान्तिको बाटो हो र यहि नै युगौ युगको सत्य पनि हो । कसैले अलिकति मन दुखायो भने रातभरि निन्द्रा लग्दैन । बदलाको भाव जागेर आउँछ । हिजोसम्मका सबै मिठा पलहरु तिता लाग्न थाल्छन् । तर यो बदलाको भावले स्वयम्लाई कति हानी गरेको छ, हामीलाई होसै हुँदैन । बदला लिएर होइन,, बदलिएर, मनको मैलो पखालेर मात्र सम्बन्धको सही भूमिका निर्वाह हुन सक्छ । राम्रा लुगा वा गरगहनाले शारीरिक सुन्दरता त बढाउला, तर व्यक्तित्वमा सुन्दरता निखार्न त मनको सुन्दरतामा ध्यान दिनु पर्छ । अग्ला घरहरु र प्रसस्त सुविधाका साधनहरु संग्रह गरेर आफूलाई अरुभन्दा सुखी देखाउन खोज्नेहरु आफ्नै प्रमादका कारणले दुःखको दलदलमा फसिरहेका हुन्छन् । हामीसँग सुविधाको संग्रह ठूलो छ जसले प्रेम र स्नेह बस्ने मनको घर पनि भरिदिएको छ । प्रतिस्पर्धाको जीवनमा भौतिक सम्पन्नताको शिखर चढ्दा चढ्दै मनको सन्तुष्टि कहाँ हरायो हरायो । आफू बाहेक सबै बैरी झैँ लाग्छन् । यो बैरभाव वास्तवमा अरुप्रतिको भाव नभई स्वयम्को स्वयम् प्रतिको वैरता हो । मनको घर शरीर हो । दिनरात नभनी शरीरलाई सास्ती दिएका छौँ, मात्र फलानो भन्दा भौतिक रुपमा आफ्नो सम्पन्नता प्रमाणित गर्न ।
अत्त हवे जितं सेथ्यो या चायं इतरा पजा । अत्तदन्तस्स पोसस्स निच्चै सञ्ञतचारिनो । (१०४)
अरुलाई जित्न सजिलै सकिएला स्वयम्लाई जित्नु चैँ महत्वपूर्ण विजय हो । मनलाई बसमा राख्न सक्ने मात्र सच्चा विद्वान हो । भन्न त प्रायः मानिसहरु भन्छन्–“म मेरो मनको मालिक हुँ ।” यस्तो सुन्दा लाग्छ यस्तो भन्ने मान्छेहरुले मनमाथि विजय प्राप्त गरिसकेका छन्, तर यति सोंच्न नभ्याउँदै तिनैले थप्छन्–“मेरो मनले जे भन्छ म त्यही गर्छु ।” त्यसो भए मनको मालिक भइयो कि नोकर भइयो त ? मनको मालिकले त मनलाई नियन्त्रणमा राख्न सक्नु पर्ने हो नि, होइन र ? वास्तवमा हाम्रा सारा पीडाहरु मनलाई जित्न नसक्दा उत्पन्न हुन्छन् । मनमा इच्छाहरुको सगरमाथा बनाएर हिँडेको मान्छे, फलानाको जस्तो घर, गाडी, व्यवसाय, साधन भन्दा भन्दै क्षण भर पनि सुखको अनुभूति गर्न नपाई जीवनयात्रा समाप्त गर्छ । मनको नियन्त्रण गर्नु भनेको वास्तवमा इच्छा र आवश्यकताका बिचमा फरक छुट्याउन सक्नु हो । आवश्यकतामा रमाउने मान्छे सुखानुभूतिका साथ बाँच्छ भने इच्छाहरुको पछाडि दौडने मानिस स्वको अनुभव नै गर्न नपाई बिदा हुन्छ । मनको पहिचान नै स्वयम्को पहिचान हो ।
अत्ता हि अत्तनो नाथो, कोही नाथो परो सिया । अत्तना व सुदन्तेन, नाथं लभति दुल्लभं । (१६०)
आफ्नो मालिक स्वयम् नै हो । अरु त को नै मालिक बन्न सक्छ र ? इन्द्रियहरु आफ्नो नियन्त्रणमा राख्नु नै आफ्नो मालिक बन्नु हो । इन्द्रिय सुखका लागि मरिहत्ते गर्नेहरु दुर्घटनाका शिकार बन्छन् । वासना भोग र विलासको अपेक्षाले गाँजेपछि मानिस सही र गलत बिचमा भेद गर्न असमर्थ हुन्छ । त्यही नै दुर्गतिको द्वार हो । सामाजिक, राजनैतिक र आर्थिक रुपमा समाजमा स्थापित भएका त्यस्ता व्यक्तिहरु पनि हामीले देखेका, भेटेका, सुनेका छौँ, जसले आफ्ना इन्द्रिय नियन्त्रणमा राख्न नसक्दा सबै पहिचान गुमाउनु परेको छ । यो अरु कसैले गरिदिएको कर्म होइन । यी त आफू आफ्नो मालिक बन्न नसक्नु, मनलाई अधिनमा राख्न नसक्नुका परिणामहरु हुन् । आवेग र उत्तेजनाहरु अनियन्त्रित मनका उपज हुन् । यस्तै उपजहरुका कारणले मान्छेले व्यवहारगत विश्वसनीयता गुमाउँछ, आचरणगत प्रतिष्ठा गुमाउँछ र दुर्घटनाको सिकार बन्छ, अनि निर्लज्ज भएर भन्छ, ‘मान्छे परिस्थितिको दाश हो ।’ स्वस्थितिको सही विश्लेषण गर्न असफल मान्छे, परिस्थितिको मूल्याङ्कन गर्छ । आफ्नै मनलाई नियाल्न नसक्ने मान्छे आफू बाहेक बाँकी सबैका मूल्याङ्कन गर्दै हिंड्छ ।
वनं छिन्दथ मा रुक्खं, वनतो जायती भयम् । छेत्वा वनञ्च वनथञ्च, निब्बाना होथ भिक्खवो । (२८३)
मन बगैँचा हो । जसरी सुन्दर बगँैचालाई नियमित सरसफाइ र गोडमेल नगरे फोहोर र घाँसले छोप्छ, त्यसैगरी मनलाई पनि नियमित सरसफाइ र गोडमेल जरुरी छ । यसमा उम्रेका क्लेशरुपी झारपातलाई समय समयमा फ्याँकेर मनलाई सुन्दर बगैँचाकै रुपमा रहन दिनुपर्छ । तर गोडमेल गर्दा ध्यान दिनु पर्छ, कतै सुन्दर फूलहरु नउखेलिउन् । तृष्णा, आशक्ति जस्ता जंगल फ्याँकेर सफा भएको मनमा प्रेम, स्नेह र करुणाको वास हुन्छ, जसले मुक्ति अर्थात् निर्वाण तिरको यात्रामा सहयोग गर्छ । आशक्ति र तृष्णा यस्ता जंगल हुन् जहाँ हरपल डर मात्र उत्पन्न हुन्छ । आशक्ति र तृष्णा कै कारण लुट, व्यभिचार, भ्रष्टाचार जस्ता सामाजिक अपराधहरु मौलाई रहेका छन् । जसको मन नियमित गोडमेल हुन्छ, झारपात पतिङ्गर हुँदैन, ऊ सँधै प्रशन्न र सुखी हुन्छ । सत्रुता, इष्र्या, प्रतिशोध, मोह, रीस आदि सबै भावहरु मनका उम्रेका जंगल हुन् । तिनीहरुको नियमित सरसफाइ आवश्यक छ । जसरी मैला लुगा धुनु र फोहोर शरीर नुहाउनु आवश्यक छ त्यस्तै मनको मैल सफा गर्नु पनि आवश्यक छ । जसले मनका सबै मैलो सफा पार्छ उसले मात्र भन्न सक्छ, “म मेरो मनको राजा हुँ, मालिक हुँ” ।
भवतु सब्ब मंगलम् !
(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्नातकोत्तर तह प्रायोगिक बौद्ध अध्ययनतर्फ प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।)




