२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

बुद्ध दर्शनमा “दुःख” को दार्शनिक विश्लेषण

बुद्ध दर्शनमा “दुःख” को दार्शनिक विश्लेषण

बुद्ध दर्शनमा “दुःख” को दार्शनिक विश्लेषण

बुद्ध दर्शनमा “दुःख” को दार्शनिक विश्लेषण

बुद्ध दर्शनमा “दुःख” को दार्शनिक विश्लेषण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • कमल सिलवाल
    आजभन्दा लगभग २६ सय वर्षअघि इशापूर्व ५६३ मा संसारले एक यस्तो महामानव, जसलाई हामी भगवान बुद्ध भनेर चिन्छौँ, पायो जसले विश्वलाई यस्तो विज्ञान दिनुभयो, जुन आजसम्म पनि जस्ताको त्यस्तै हरेक जीवनमा लागु गर्न सहजै सकिन्छ । राज्यले दिएका तमाम सुख – सुविधा र तत्कालीन समयमा उपलब्ध सबै प्रकारका आराम र मनोरञ्जनका साधनलाई त्यागेर समग्र प्राणीको मुक्तिको लागि २९ वर्षको उमेरमा राज्य त्याग गरी ६ वर्षको ध्यान साधनापश्चात् जुन ज्ञान र विज्ञानको आलोक संसारलाई प्रदान गर्नु भयो त्यो आलोकको थोरै किरण मात्र बुझ्न र त्यही अनुरुप बाँच्न सके जीवन सार्थक हुने थियो, समाज सुन्दर हुने थियो ।

    महाकरुणायुक्त चित्त भएका भगवान बुद्धले सम्पूर्ण प्राणीहरुको उद्दारका खातिर गरिएको ध्यानबाट प्राप्त अनन्त प्रज्ञालाई सर्वप्रथम पञ्चवर्गीय भिक्षु सामु प्रथम धर्मचक्र प्रवर्तनका क्रममा चार आर्य सत्यका रुपमा प्रकट गर्नु भयो । ती आर्य सत्यहरु दुःख, दुःखको समुदय, दुःखको निरोध र दुःख निरोधगामी मार्गहरु थिए । दुःखलाई गहिरो र दार्शनिक रुपमा सायदै कसैले यसरी विश्लेषण गरेको थियो वा छ । जहाँ मानिस दुःखका सन्दर्भमा कुरा पनि गर्न चाहँदैन त्यहाँ भगवान बुद्ध दुःखलाई विश्लेशण गर्नु हुन्छ ।


    सतही रुपमा भगवान बुद्धका प्रारम्भिक देशना सुनेर बुद्धको धर्मलाई वा दर्शनलाई दुःखको धर्म वा दर्शन भन्नेहरु पनि नभेटिएका होइनन् । जसरि एउटा रोगी रोग (दुःख) लाई बोकेर उपचारका लागि चिकित्सकलाई भेट्न पुग्छ तब सबैभन्दा बढी समय रोग (दुःख) को पहिचानमा समय उर्जा र अर्थ नै खर्च हुन्छ । विभिन्न परीक्षण तथा जाँचहरुको नतिजा विश्लेषण पश्चात् रोग (दुःख) को सफल पहिचान भएपछि मात्र औषधी (निदान) प्रयोग गरिन्छ । अर्थात् बिमारको सही विश्लेषण र पहिचान नै निदानको एक मात्र विकल्प हो । 


    यसरी हर्ने हो भने संसरका सबै प्राणीहरुको एक मात्र खोजी सुख हो भने त्यस अमूल्य बस्तुलाई ढाकेर राख्ने तत्व दुःखको दार्शनिक र वस्तुगत विश्लेषण नगरी कसरी त्यससम्म पुग्न सकिएला र ? तर आज मानिस मूल विषयमा छलफल र चर्चा गर्न समेत डराउँछ, अनि निरन्तर सुखको अपेक्षा पालिरहन्छ । सुख खोज्ने क्रममा एकपछि अर्को दुःख सृजना गर्दै आफैँलाई धिक्कार्दै बस्छ । त्यसैले बुद्धको धर्म आज पनि अति सान्दर्भिक मात्र होइन अति आवश्यक भएको देखिएको छ । 


    भगवान बुद्धले मानव जीवनको आधारभूत समस्याहरुको समाधान खोज्ने गहनतम प्रयास गर्नु भयो । सबै समस्याहरुको मूल नै “दुःख” लाई देख्नु भयो । त्यसैले भन्नु भयोः “सब्बे संखारा दुक्खाति, यदा पञ्ञाय पस्सति” (धम्मपद; २७८) । भगवान बुद्ध भन्नु हुन्छ, जन्मनु दुःख हो, बृद्ध हुनु दुःख हो, मरण दुःख हो, अप्रियसँगको भेट, प्रियजनसँगको बिछोड इच्छाइएको कुरा गुम्नु या नपाउनु सबै दुःख नै हुन् । 


    दुःखको गहिराइ र दार्शनिक विश्लेषणका लागि बस्तुगत रुपमा भगवान बुद्धले दुःखलाई तीन तहमा वर्गीकरण गर्नु भएको छ । “तिस्सो दुक्खता दुक्खदुक्खता, सत्तारदुक्खता, विपरिणामदुक्खता” (दीघ्घनिकाय, सड्गीतिसुत्त) अर्थात् दुःखदुःख, संस्कारधर्म दुःख र विपरिणाम दुःख गरी दुःख तीन किसिमका छन् ।  


    क) दुःखदुःखः
    नारायणप्रसाद रिजाल लेख्नुहुन्छ, “प्रत्यक्ष अनुभव भइराख्ने र सबैले सहजै जेलाई दुःख बुझ्नु भएको छ त्यो नै दुःखदुःख हो ।“ शारीरिक या मानसिक रुपमा आइपर्ने पीडाको अवस्था जसलाई सामान्य आँखाले देखिन्छ त्यस दुःखलाई यो वर्गमा राखिएको छ । रोगव्याधको कष्ट, सम्बन्धमा हुने वियोग, साधन सुविधाको कमिमा देखिने दुःख आदि सबै यसै वर्ग अन्तर्गत पर्दछन् । यिनै दुःखहरुबाट निस्कन मान्छे दिनरात नभनी परिश्रम गर्छ र त्यही कठीन परिश्रमको फलस्वरुप फेरी उमेर ढल्के पछि अनेक रोग व्याधको शिकार हुन्छ ।भगवान बुद्ध भन्नुहुन्छः “दुःखं वा दुःखं वेदनं वेदियमानो दुःखं दुःखं ति पजानाति” (संयुक्तनिकाय ३६.६) अर्थात जब कायिक वा मानसिक दुःख अनुभव हुन्छ त्यसैलाई दुःखदुःख भनेर बुझ्नु पर्छ ।


    ख) संस्कारधर्म दुःखः
    आचार्य दयानिधि लेख्नुहुन्छ–“कारणहरुको सहकार्यले बनेका कुरालाई संस्कार भनिन्छ । संस्कारको वास्तविक स्वभाव नै त्यसको धर्म हो ।” अतः जब वस्तुको धर्म अनुरुपको अपेक्षा गरिदैन तब दुःख नै प्राप्त हुन्छ । परिवर्तन संसारको नियम हो । संसारमा कुनै पनि वस्तु स्थाइ छैनन् । हामी तिनै अस्थाइ वस्तुहरुबाट स्थाइ सुखको अपेक्षा राख्छौँ, त्यही नै दुःखको मुल कारण हो । यसरी वस्तुको स्वभाविक धर्मविपरीत अपेक्षा गर्दा पाइने दुःख नै संस्कारधर्म दुःख हो(दयानिधि; आधारभुत बौद्ध दर्शन, ८७) ।


    ग) विपरिणाम दुःखः
    भगवान बुद्ध भन्नुहुन्छ–“यं सुखं वेदयितं तं वेदनं विपरिणामं गच्छति, तस्स विपरिणामा दुक्खानुपतिता होती ।” (संयुक्तनिकाय ३६.६) अर्थात् जो सुखद अनुभूति हो त्यो परिवर्तन भएर पीडामा परिणत हुन्छ । दुःख मुक्तिको चाहना सबैको हो । आचार्य दयानिधि लेख्नुहुन्छ–“एउटा दुःख हटाउने प्रकृयाको परिणाम स्वरुप अर्को दुःख आउनु विपरिणाम दुःख हो ।”


    भगवान बुद्धले दुःखको देशना मात्र गर्नु भएको छैन । जब दुःखको विश्लेषण हुन्छ तव दुःख निदान सहज हुन्छ । आफ्नो प्रथम धर्मचक्र प्रवर्तनमा भगवान बुद्धले दुःख, यसको उदयका कारण, निवारण र निवारणका मार्गहरु पनि स्पष्ट गर्नु भएको छ, जसलाई हामी चार आर्य सत्यका रुपमा बुझ्छौँ । चार आर्य सत्यमा दुःखको उत्पत्तिदेखि निर्मुलका उपायहरुको निरुपण गरिएको छ । 
    के हो चार आर्य सत्य ?


    चार आर्य सत्य जसलाई चतुरार्य सत्य पनि भनिन्छ । यसलाई पालि भाषामा “चत्तारि अरिय सच्चानि” भनिन्छ । बौद्ध धर्मको केन्द्रिय विषय नै यहि हो । यी सत्यहरु सबैका लागि सबै देश, काल, परिस्थितिमा अकाट्य हुने भएकाले यिनलाई सत्य भनियो । क्लेश रुपी अरि (शत्रु) लाई नष्ट गर्ने आर्य हो । त्यसैले क्लेशहीन आर्यको सत्य भएकोले यी चार सत्यलाई आर्य सत्य भनियो । भगवान बुद्धले प्रथम धर्मचक्र प्रवर्तनमा बताउनु भएका चतुरार्य सत्यहरुलाई यसरी हेरौः


    क) दुक्ख अरिय सच्चः
    जन्मदेखि मरणसम्म सबै दुःख हो । संसारको अनित्यताको कारण जन्मदेखि मरण सम्मको यात्रामा हरक्षण अनुभव हुने कुरा नै दुःख हो । यसलाई स्पष्ट पार्दै भनिएको छः
    “इदं खो पण भिक्खवे दुःख अरियसच्चं, जातिपि दुक्खा, जरापि दुक्खा, व्याधिपि दुक्खा, मरणंपि दुक्खं,  अपियेंहि सम्पयोगो दुक्खो, पियेंहि विप्पयोगो दुक्खो,  यम्पिच्छं न लभति तम्पि दुक्खं,  संखित्तेन पञ्च उपादानक्खन्धा दुक्खा” (मज्झिम निकाय, सच्चविभाड्ग सुत्त)अर्थातः हे भिक्षुहरू, यो दुःख आर्यसत्य हो । जन्म दुःख हो, बुढ्यौली दुःख हो, रोग दुःख हो, मृत्यु दुःख हो, अप्रियसँगको भेट दुःख हो, प्रियबाट वियोग दुःख हो, मनपरेको नपाउनु दुःख हो, संक्षेपमा, पाँच उपादान स्कन्ध नै दुःख हुन् । यसरी दुःखलाई शारीरिक र मानसिक दुबै रुपमा प्रष्ट्याइएको छ । 


    ख) दुक्खसमुदयं अरियसच्चः 
    सुमदय भनेको उदय हुनु, आरम्भ हुनु हो । दुःख समुदय भन्नाले दुःख कसरी उत्पन्न हुन्छ, यसका कारणहरु के के हुन् भन्ने तथ्यको विश्लेषण यस सत्यमा गरिएको छ । भगवान बुद्धले दुःख उदय हुनुको प्रमुख कारणमा तृष्णा हो भन्नु भएको छ । प्रिय जनसँग रहिरहने तृष्णा या अप्रियबाट टाढिन चाहने तृष्णा । तृष्णा नै दुःखलाई उकास्ने मल हो । आचार्य दयानिधि लेख्नुहुन्छः “तृष्णाको आनन्द र अनुरागसाँग घनिष्टता छ र यो तत् तत् विषयको ग्रहणार्थ बारम्बार उत्पन्न हुन्छ ।” भगवान बुद्धले तृष्णालाई कामतृष्णा, भवतृष्णा र विभवतृष्णा गरी तीनवटा बताउनु भएको छ । इन्द्रिय सुख कामतृष्णा हो भने संसारमा रहिरहने तृष्णा भवतृष्णा हो।विभवतृष्णा भनेको स्वयम् र संसारदेखि वैराग्य भाव हुनु र स्वयमलाई हानी गर्ने बाटो रोज्नु हो । यी सबै प्रकारका तृष्णाहरु दुःख उदय हुनुका मूल कारणहरु हुन् ।


    ग) दुक्खनिरोधं अरियसच्चः
    निरोधको अर्थ रोक्नु, बन्द गर्नु हो । दुःख निरोध भन्नुको तात्पर्य दुःख चक्रलाई भत्काउनु वा रोक्नु भन्ने हुन्छ । जे जति कारणले दुःख उदय भएको हो तिनको पहिचान गरी, तिनको निरोध गरी दुःखको अन्त्य गर्न सकिने तथ्य निरोध अरियसच्च हो । जसरि तेल र बाती सकिए पछि दियो बल्दैन त्यसै गरी दुःखको उदयको कारण तृष्णा, क्लेश, अविद्या नष्ट भए पछि दुःखको नष्ट हुनेकुरा भगवान बुद्धको देशना हो । दुःखको क्षय हुनु नै परम सुखको अस्था हो, निर्वाण हो । 


    घ) दुक्खनिरोधगामिनी पटिपदा अरियसच्चः
    दुःख निरोध हुन सक्ने तथ्य भए पछि कसरी र कुन बाटोबाट दुःख समाप्त गर्ने, कुन उपायहरुबाट क्लेश, तृष्णाको निरोध गर्ने भन्ने कुराको निरुपण गर्न नै चौथो आर्य सत्य हो । समग्र मुक्तिको मार्ग भएकोले यसलाई निरोगधगामी मार्ग भनिएको हो । दुःखबाट स्थाइ मुक्ति पाउनका लागि भगवान बुद्धले सहज मार्ग बताउनु भएको छ जसलाई आर्य अष्टाङ्गिक मार्ग भनेर चिनिन्छ । सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजिविका, सम्यक् व्यायाम, सम्यक् स्मृति  र सम्यक् समाधि गरी आठ मार्गमा हिंड्ने व्यक्तिले अनन्त सुखको अनुभूति गर्छ भन्ने शिक्षा नै बुद्धधर्मको आधारभुत शिक्षा हो ।


    यसरि हेर्दा भगवान बुद्धले केवल दुःखको कुरा मात्र गर्नु भएन, दुःखलाई निमिट्यान्न पारेर कसरी सुखी जीवन बाँच्ने भन्ने कुरा पनि सिकाउनु भयो । दुःखको विश्लेषणका क्रममा सुखको मार्ग पनि प्रशस्त गराउने भगवान बुद्ध वास्तवमा मनको विस्तृत विश्लेषण र संश्लेषण गर्ने प्रथम मनोवैज्ञानिक पनि हुनुहुन्छ । मन नै सबै कुराको कारक हो । मन नै सबै दुःखको उद्भव हो । धम्मपदको प्रथम गाथाले पनि यसै भन्छः “मनोपुब्बङ्गमा धम्मा मनोसेट्ठा मनोमया”  अर्थात मन नै सबै धर्मको मूल हो । मनको यति गहन विश्लेषण सायदै कतै भएको छ । मनको क्लेश र तृष्णालाई नपखाली हामी सुखको अनुभूति गर्न सक्दैनौँ । भगवान बुद्धले दुःख सिकाउनु भएन बरु दुःखलाई गहिरो गरी बुझेर त्यसबाट पार पाउने उपायहरु (मार्ग) बताउनु भयो । ती मार्गहरु यति धेरै व्यवहारिक छन् कि तिनलाई आजको दैनिकीमा प्रयोगमा ल्याउँदा हरेक जीवन दुःख मुक्त भएर निर्वाणको अनुभवसहित बाँच्न सक्छन् ।
    भबतु सब्ब मंगलम् !
    (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्नातकोत्तर तह प्रायोगिक बौद्ध अध्ययनतर्फका प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij